राजनीति


मतपत्रको फोटो खिच्ने सांसदहरुलाई गगनले भने : छातीमा टाँसेर हिँड्नु, सामाजिक सञ्जालमा हाल्नू

मतपत्रको फोटो खिच्ने सांसदहरुलाई गगनले भने : छातीमा टाँसेर हिँड्नु, सामाजिक सञ्जालमा हाल्नू

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०७९ बुधबार १०:२७, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा ११ जना सांसदहरुले आफूले मत हालेको मतपत्रको तस्बिर खिचेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान भएको मतदानका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्देशनमा उनीहरुले मत दिएपछि मतपत्रको तस्बिर खिचेका हुन्। 

यसलाई लिएर संसदीय दलका एकजना प्रतिस्पर्धी गगनकुमार थापाले मतदानस्थलमै विरोध जनाएका छन्। 

थापाले आफूहरुको विरोधका बावजुद सांसदहरु जस्तो जिम्मेवारीमा रहेकाहरुले यस्तो गर्नुलाई दु:खद भनेका छन्। 

'मोबाइल फोन निषेध गर्दा पनि केही महिला सांसदहरुले छाप हालिएको फोटो खिचिएको भन्ने कुरा आएको छ', उनले भने, 'पार्टीको आन्तरिक निर्वाचन के होला भनेर हामीले स्वीकार गरेका छौँ। पार्टीका केही वरिष्ठ नेताहरु मतदान खसाउने ठाउँमै कुरेको भनेर बसिरहे। हामीले भन्दाभन्दै १०/११ जनाले छाप हालेको तस्बिर खिचे।'

उनले जनताद्वारा निर्वाचितहरुको यो कार्य असुहाउँदो भने। 'एउटा त सांसद आफैंले पनि बुझ्ने कुरा हो। किन फोटो खिच्नु भएको हो? कस कसले खिचेको हो सबैलाई थाहा छ', उनले भने, 'मैले नै गनेको थिएँ, १० /११ जना साथीहरुले तस्बिर खिचेका छन्। यस्तो होला कि भनेर मैले त पहिले नै भनेको हो।'

उनले परिणाम जे आए पनि स्वीकारेर जाने बताए। 'जे भए पनि अब परिणाम नस्वीकार्ने कुरै छैन। उहाँहरु (मतपत्रको फोटो खिच्ने सांसद) ले त्यो मतपत्रको फोटो छातीमा टाँसेर हिँडे पनि हुन्छ। ज-जसले खिच्नु भयो, उहाँहरुले बेलुका सामाजिक सञ्जलामा हाल्नुस्, मैले यसमा भोट हालेँ भनेर।'

२०७४ मा पनि आफूले शेरबहादुर देउवासँग प्रतिस्पर्धा हुँदा प्रकाशमान सिंहनलाई मतदान गरेको बताए। 'त्यसबेला पनि नेतृत्व बदल्ने पक्षमा जनमत थियो', उनले भने, 'अहिले पनि पार्टीको नेतृत्वमा सबैको आस्था छ। नेपाली कांग्रेसले सरकार चलाउँदै गर्दा नेता, नीति र शैली बदलिनुपर्छ भन्ने थियो। अहिले पनि हामीले चाहेको त्यही हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad