राजनीति


प्रधानमन्त्री बन्न एमालेको अफर, त्यतातिर सोचेको छैन : प्रचण्ड

प्रधानमन्त्री बन्न एमालेको अफर, त्यतातिर सोचेको छैन : प्रचण्ड

सागर न्यौपाने
पुस ७, २०७९ बिहिबार २१:४३, काठमाडौँ

बुधबार (६ पुस) राष्ट्रपति निवास शितल निवासमा आयोजित जेष्ठ सांसद पशुपति शमशेर राणाको शपथ ग्रहण कार्यक्रममा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै सिटमा कुराकानी गरेको तस्बिर भाइरल भयो।

दुई नेताको छेवैमा थिए, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल।

ओलीले ५ पुस २०७७ मा संसद विघटन गरेपछि ओली–प्रचण्डको सम्बन्ध राम्रो छैन।

एकले अर्कोलाई हदभन्दा तल झरेर लगाउने आरोप, गालीगलौज गर्ने यी नेताको एकै ठाउँमा बसेर संवाद गरेको तस्बिर भाइरल गराउने काम स्वयं एमाले, माओवादीकै नेता कार्यकर्ताले गरेका थिए। कार्यक्रममा अन्य नेता पनि उपस्थित थिए तर ओली–प्रचण्ड–खनालको मात्र तस्बिर बढी प्रचार गराउनुको पछाडिको कारण के छ?

सो तस्बिर ओलीकै सचिवालयका राजन काफ्लेले विभिन्न सञ्चारमाध्यममा उपलब्ध गराएका हुन्।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा कुनै दलले पनि बहुमत ल्याउन सकेनन्। नयाँ सरकार गठन गर्न बहुमत सांसदको समर्थन पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्मको समय दिएकी छन्।

हो, सरकार निर्माणकै क्रममा दलहरू छन्।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन र एमाले छुट्टाछुट्टै कसरतमा छन् र बहुमत पुर्‍याउने प्रयासमा देखिन्छन्।

एमालेलाई माओवादीको साथ भए सजिलै सरकार बनाउन सकिने विश्वास छ। त्यही भएर शितल निवासको त्यो औपचारिक भेटलाई ओलीले सदुपयोग गरिहाले। उनले प्रचण्डसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन मिलेर सरकार बनाउने प्रस्ताव प्रचण्ड समक्ष राखे।

त्यो कुरा प्रचण्डले बिहीबारको पदाधिकारी बैठकमा बताइदिए।

बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरलाई सुनाएअनुसार एमाले अध्यक्ष ओलीले मिलेर सरकार बनाउने प्रस्ताव राखेका छन्।

तर, सो प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको आफूले जवाफ दिएको प्रचण्डले बताए।

‘हिजोमात्र ओलीजीसँग शितल निवासमा जेष्ठ सांसदलाई सपथ दिने कार्यक्रममा भेट भएको थियो, तपाईंहरुले तस्बिर पनि हेर्नू भयो नि’, पदाधिकारीसँग प्रचण्डले भने, ‘मिलेर जाने उहाँले प्रस्ताव राख्नु भएको थियो तर मैले हामीले अहिले तत्काल त्यतातिर सोचेको छैन भन्ने जवाफ दिएँ।’

ओलीले अझ जोड गरेको प्रचण्डले बताएको ती पदाधिकारीले दाबी गरे।

‘तपाईं हामी मिल्दा नै उपयुक्त हुन्छ’, ओलीको भनाइ थियो।

‘कुरा ठिकै हो, तर यसबारे हाम्रो पार्टीभित्र छलफल भएको छैन, यतातिर सोचिएको पनि छैन’, ओलीलाई प्रचण्डको जवाफ थियो।

प्रचण्ड र ओलीबिच संवाद सुनिरहेका झलनाथ खनालले पनि सरकार निर्माणकै विषयमा सामान्य छलफल भएको बताए।

‘निकट भएर, मिलेर सरकार बनाउने प्रस्ताव उहाँले संकेत गर्नुभएको हो’, खनालले भने, ‘त्यसबाहेक मैले र उहाँले हामी दुवैको स्वास्थ्य अवस्थाको बारेमा कुरा गर्‍यौं।’

ओली र प्रचण्डबीच बिहीबार पनि सांसदको सपथ लिएपछि संसद भवनमा एकै ठाउँमा बसेका थिए, जहाँ ओलीले फेरि पनि मिलेर जान संकेत गरेको नेताहरूले बताएका छन्। 

उता, बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले गठबन्धनभित्रबाट सराकर बन्ने निष्कर्ष निकालेको छ।

‘सरकार गठबन्धन भित्रबाट हुन्छ’, प्रचण्डले भने, ‘आपसी छलफल गर्दै सहमतिमा पुगिन्छ।’

बिहीबारको बैठकले सरकार गठन भने आफ्नै नेतृत्वमा गर्ने माओवादी निष्कर्ष छ।

‘सरकार हाम्रै नेतृत्वमा लिन पहल गर्न लाग्नेछौँ’, एक नेताले नेपालखबरसँग भने, ‘पहिलेदेखि हाम्रै नेतृत्वमा सरकार बनाउने समझदारी अनुसार गठबन्धन अघि बढ्नेछ।’

प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणको प्रक्रियामा दलहरूसँग संवाद र छलफल थालेका छन्।

बुधबार टिचिङ अस्पतालमा रहेका माधव नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड पुगेका थिए।

तीन नेताबीच सरकार निर्माण र गठबन्धनबीच मिलाएर जाने समझदारी भएको नेताहरु बताउँछन्।

एमालेका एक नेताका अनुसार ओली–प्रचण्डलाई प्रधानमन्त्री दिन तयार छन्। एमालेले राष्ट्रपति, सभामुख लिएर जाने योजना छ। एमालेको बटमलाइन राष्ट्रपति हो।

माओवादी अध्यक्ष प्रचण्डले सरकारको पहिलो कार्यकाल २ वर्ष सरकारको नेतृत्व गर्न चाहेका छन्। एमालेको प्रस्तावमा प्रचण्ड सहमत हुने सम्भावना भएपनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसमा असहमति जनाएको नेताहरूले बताएका छन्। 

एकतिर प्रधानमन्त्रीको प्रस्ताव आएपनि प्रचण्ड ओलीसँग विश्वस्त हुन सकिरहेका छैनन् भने अर्कोतिर माधव नेपाल असहमत हुँदाहुँदै उनी अहिलेको गठबन्धन तोडिहाल्ने पक्षमा पनि छैनन्। त्यसैले प्रचण्डको पहिलो प्राथमिकता अहिलेको गठबन्धनबाटै प्रधानमन्त्री हुने छ। यदि पहिलो प्रधानमन्त्री दिन देउवा असहमत भएमात्रै प्रचण्ड एमालेतिर मोडिन सक्ने नेताहरू बताउँछन्। 

‘प्रचण्डजी सत्ताको नेतृत्व लिएर यता मिल्न तयार हुनुहुन्छ तर माधवजीले उहाँलाई रोक्नु भएको छ’, एमाले एक नेताले भने, ‘प्रचण्डले माधव नेपालसहित छलफल गरौं भन्नुको कारण त्यही हो।’

प्रचण्डले एमालेका नेताहरूसँग माधव नेपालसहित गठबन्धन हुने अवस्थामा मात्रै छलफल गर्न सकिने बताएको एमालेका ती नेताले उल्लेख गरे। 

‘एकीकृत समाजवादीलाई अलग राखेर एमालेसँग मिल्ने प्रस्ताव प्रचण्डले अस्वीकार गरेका छन्’, एकीकृत समाजवादीका एक नेताले भने। 

‘हामीलाई बाहिर राखेर सरकार बनाउने प्रस्ताव एमालेले राखेको रहेछ’, ती नेताले भने, ‘तर प्रचण्डले मानेका छैनन्। उनी कहिलेसम्म अडानमा बस्छन् भन्ने हो।’

एकीकृत समाजवादीका ती नेताले एमाले अध्यक्ष ओलीले बिगतको गल्तीको समीक्षा गरेर त्यो नदोर्‍याउने प्रतिबद्धता नजनाइ नयाँ गठबन्धन बन्ने सम्भावना नरहेको दाबी गरे।

‘ओलीले हिजोको गल्तीको समीक्षा गर्दै माफी मागेर सबैलाई सम्मान गर्दै जाने घोषणा गर्नुपर्छ, जुन सम्भव छैन’, ती नेताले भने, ‘अहिलेसम्म त्यो आधार बनेकै छैन।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वाम–लोकतान्त्रिक गठबन्धन कै सरकार बन्ने बताए।

‘गठबन्धन घटकबीच सन्तुलित र चित्त बुझाउने गरि पावर सेयरिङ भएन भने मात्र अरु केही होला’, उनले भने, ‘कसैको पुच्छर हुन कोही चाहँदैन।’

एमालेले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा मिलाएर सरकार बनाउने योजना बनाइरहेको बारे आफूहरु जानकार रहेको खनालले बताए।

१० गतेसम्म गठबन्धनमा नमिले विकल्प
राष्ट्रपति भण्डारीले दिएको पुस १० गतेको समयसम्म सरकार बनाउन आवश्यक बहुमत सांसद जुटाउने प्रचण्डको तयारी छ। त्यसकै लागि कांग्रेस र एकीकृत समाजवादीबीच पावर सेयरिङ सकाउने तयारी प्रचण्डले गरेका छन्।

पदाधिकारी बैठकबाट सरकारको नेतृत्व आफैँ गर्ने निष्कर्ष निकाल्नुको कारण त्यही हो। तर, १० गतेसम्म कांग्रेससँग सहमति नभए विकल्पतिर जानुपर्ने छलफल माओवादीभित्र भएको छ।

‘१० गतेसम्म कांग्रेससँग समझदारी बन्ने नदेखिए परिस्थिति अर्कै हुन सक्छ’, एक नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .