ad ad

राजनीति


देशप्रति अर्थशास्त्री वाग्लेको चिन्ता : नेपालीहरूको छाती मुटुले होइन, पहराले बनेको त छैन?

देशप्रति अर्थशास्त्री वाग्लेको चिन्ता : नेपालीहरूको छाती मुटुले होइन, पहराले बनेको त छैन?

वाशुदेव मिश्र
पुस ८, २०७९ शुक्रबार ७:४३, पाेखरा

अर्थशास्त्री डा. अच्युत वाग्लेले आउँदो दशकमा नेपाल अहिलेभन्दा समृद्ध र गौरवशाली हुने आकलन गरेका छन्। 

‘सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धशाली र गौरवशाली हुनेछ’, उनले भने, ‘जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको संख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्।’ 

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रारसमेत रहेका उनी बिहीबार पोखरामा नेपाल साहित्य सम्मेलनको उद्घाटन सत्रमा विद्वत्‌ प्रवचन दिँदै थिए। यद्यपि उनले जनसांख्यिक लाभको उत्कर्षसँगै योग्य नेताको हातमा सत्ताको बागडोर पुगेमा त्यस्तो अवस्था आउने कुरा लुकाएनन्। 

‘अबको एक दशकमा जनसंख्या सवा तीन करोड पुग्ला र मुलुक जनसांख्यिक लाभको उत्कर्षमा आइपुग्ला’, उनले भने, ‘यो अवधिमा त मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्। इन्द्रेणीरूपी छन्। अहिले नै झन्डै सम्पूर्ण नेपाल बिजुलीको उज्यालोले झलमल्ल छ। र, नेपालले बालेको यो बिजुलीमध्ये ९९.५ प्रतिशत जलविद्युत्‌तबाट वा नवीकरणीय स्रोतको सफा ऊर्जा हो। नेपालको आफ्नै बिजुलीले अब द्रूत औद्योगिकीकरण, व्यवस्थित र गुणस्तरीय नागरिक जीवनयापनमा योगदान दिनेछ।’ 

डा. वाग्लेले अपेक्षा गरेअनुरूपका सबै उपलब्धि हासिल भए पनि अन्य देशको तुलनामा भने पछि नै पर्ने ठोकुवा गरे।  ‘संंसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफैँ उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ’, उनले भने।  

उनले वर्तमान राजनीतिक नेतृत्वप्रति चरम असन्तुष्टि प्रकट गरे। नेताहरूले राजनीतिलाई जनमुखी बनाउने अहम् मुद्दाहरू त्याग, चरित्र, पात्रता, इमान्दारी, योग्यता, भविष्य-दृष्टि सबै–किनारातर्फ धकेलेको उनको ठहर छ। 

उनले भने, ‘हिजो, अहिलेका निर्णायक दलका उपल्लो तहका नेताहरूले जीवनका सुख/सुविधाहरूहरू मुलुकको रूपान्तरणका लागि त्याग गरेको ठानिएको थियो। तर, वास्तविक अर्थमा त्यो त्याग थिएन, बरु अहिलेको राजसी जीवनका लागि लगानी थियो भन्ने उनीहरूको व्यवहारले देखाएको छ। दर्शन, आदर्श र विचार गौण छन्। बहुदलीय लोकतन्त्रको मूल आधार, दलहरूबीच अपेक्षित वैचारिक प्रतिस्पर्धालाई सत्तामोह, लालच र आत्मकेन्द्रित स्वार्थी व्यवहारहरूको अनपेक्षित प्रतिस्पर्धाले सबैलाई एकसमान, राष्ट्रप्रति निःस्पृह साबित गरिदिएको छ।’

उनी त्यत्तिमै रोकिएनन्। उनले थपे, ‘नेपालले विगत सत्तरी वर्षमा कम्तीमा आधा दर्जन फरक मोडेलका शासकीय प्रणालीहरूको परीक्षण गरिसकेको छ। मुलुकले ठूलो अवसर मूल्य चुकाएपछि संघीय गणतन्त्रात्मक लोकतन्त्र स्थापित भएको हो। अभ्यासको सात वर्षमै यो प्रणाली पनि असफलता उन्मुख भएको तर्क गर्न थालिएको छ। मुलुकको उन्नतिका लागि वास्तवमा प्रणाली एउटा साधन मात्र हो। मूल कुरा शासकको नियत, योग्यता र दृष्टिकोण हो। उदाहरणका लागि पञ्चायती व्यवस्थाले प्रचार गरेको शान्ति क्षेत्र वा एसियाली मापदण्डको नारा र उद्देश्य किमार्थ नराम्रो थिएन। तर, शासकहरू आफ्नै प्रतिबद्धता र योजनाप्रति इमान्दार थिएनन्। त्यही रोग अहिले पनि निरन्तर छ। कुशासनको दोष पात्रले लिन नचाहने र त्यो दोष प्रणालीमाथि थोपर्ने प्रचलनले मुलुकले निरन्तर राजनीतिक परीक्षणको प्रयोगशाला भएको छ। प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि थप आरक्षणका प्रावधानहरूमा जेजस्ता परिवर्तन गरे पनि पात्रहरूको प्रवृत्तिमा समूल सुधार नआई आर्थिक सामाजिक रूपान्तरण सम्भव छैन। साथमा मुलुकले अपनाएको राज्य प्रणाली असफल हुने र समृद्धिको सपना भने साकार हुने परिघटना एकैसाथ हुन सक्दैनन्। उन्नतिको सपना प्रणालीगत स्थायित्व र सफल कार्यान्वयनबाट मात्रै सम्भव छ। यसका लागि राजनीतिक प्रणालीको स्वामित्व शासकीय राजनीतिले लिनु र लिएको प्रत्याभूति दिनु अपरिहार्य छ।’

उनले इमान्दारीकै परिभाषा नै बदलिएको ठोकुवा पनि गरे। ‘मैले गरेको बेइमानी जबसम्म अरूले वा कानुनले थाहा पाँउदैन, तबसम्म म खाँटी इमान्दार हुँ’ भन्ने दाबी सामाजिक रोगका रूपमा फैलिएको टिप्पणी उनले गरे। आफूलाई सहरिया, पठित, चलाख, अभिजात्य वा सभ्य भन्न रुचाउने वर्ग र सत्ताको साँचो हातमा लिनेहरूले यस्तो आडम्बरलाई समान ढंगले आफ्नो जीवन बाँच्ने मूल आधार बनाएको आरोप पनि उनले लगाए। 

‘हाम्रा सामाजिक व्यवहारहरू असङ्गत र आडम्बरपूर्ण छन्। त्यसको अग्रपंक्तिमा सचेत, शिक्षित र समाजका अगुवाहरू नै छन्। आफ्ना छोराछोरी नफर्कने गरी अमेरिका, अस्ट्रेलिया वा युरोपेली मुलुकहरू पलायन हुनु समाजमा प्रष्तिष्ठाको मानक बनेको छ’, उनले भने। उनी अझै रोकिएनन् र भने, ‘सार्वजनिक जीवनमा लैङ्गिक र अन्य प्रकृतिका समावेशिता र समानताको वकालत गर्नेहरूको निजी जीवनमा ‘आइबक्स्योस्, खाइबक्स्योस्’ वर्गमा उक्लिने तीव्र मोह सर्वत्र छ।’

दोषी शिक्षा प्रणाली 
डा. वाग्लले नेपालको शिक्षा पद्धतिमा पनि दोष देखाए। उनले गुणस्तरीय शिक्षाको परिभाषा एवं मानक भनेकै अंग्रेजी भाषाको संवाद हो भन्ने मान्यताले समस्या निम्त्याएको टिप्पणी पनि गरे। 

‘आफ्ना छोराछोरी अध्ययनका लागि पहिलो विश्वका मुलुकहरूमा पलायन हुनु र त्यहाँको ग्रिनकार्ड, पीआर र नेपाली राहदानी त्यागेर उतैको राहदानी लिनु हो। यो प्रवृत्ति र व्यवहारको आक्रामक ढंगले अवलम्बन गर्नेमा पठित र विद्वान् भनिने र नीति निर्माणमा हस्तक्षेप गर्ने हैसियत बनाएको वर्ग सबैभन्दा अगाडि छ’, उनले भने, ‘यसरी हामी जानीबुझीकनै नेपालसँग साइनो टुटेका नागरिकहरूको एउटा सिङ्गो पुस्ता जन्माउँदै छौं।’ नेपालको विश्वविद्यालय शिक्षा सम्पूर्ण रूपले थला बस्ने अवस्थामा आइपुगेको बताउँदै उनले  गएको वर्षमात्र उच्च अध्ययनका लागि भनेर ४ अर्ब ५० करोड डलर मुलुकबाट बाहिरिएको तथ्य सुनाए। 

उनले उद्यमशिलता–प्रेरक शिक्षाको अभावले विदेश पलायन बढाएको तर्क पनि गरे। नेपालले कृषि र कृषिमा आधारित उद्यमबाट उन्नति गर्नसक्ने उल्लेख गर्दै उनले भने, ‘यस क्षेत्रको परम्परागत सीपलाई अलिकति सीप, प्रविधि र बजारसँग जोड्ने हो भने उत्पादकत्व र रोजगारीका अवसर दुवैमा सहज वृद्धि हुन्छ। यसबाहेक नेपालमा उपलब्ध अर्धसाक्षर र अर्धदक्ष युवालाई रोजगारी दिलाउने अर्को उपाय तत्काललाई छैन।’

विदेशिने पनि उस्तै 
उनले संसारमा द्रूत गतिमा फैलिएको भनिएको नेपाली डायस्पोराले नेपालको उन्नति र विश्व प्रतिष्ठा बढाउन अपेक्षाअनुरूप योगदान गर्न नसकेको टिप्पणी पनि गरे। 

नेपालको नागरिकता त्यागे पनि विदेशमा बसेर नेपालकै दलीय राजनीति गर्ने र गैरआवासीय नेपाली संघजस्ता मुलुकले ठूलो अपेक्षा गरेका संस्थाहरू आफैँ चरम संस्थागत क्षयीकरणको सिकार हुनु दुःखद रहेको उनले बताए। ‘नेपालले जति संख्यामा कूटनीतिक नियोगहरू सञ्चालन गरेको छ, तिनको औचित्य पुष्टि भएको छैन। जसरी अयोग्यहरूलाई उच्च कूटनीतिक जिम्मेवारी दिने प्रपञ्च चलेको छ, त्यसले विश्व रंगमञ्चमा नेपालको छविलाई उजिल्याउन सकेको छैन, केवल धमिल्याएको मात्रै छ’, उनले भने। 

‘राष्ट्रिय स्वभिमान र अस्तित्वको मुख्य आधार सार्वभौमसत्ता हो। तर, पूर्ण आर्थिक परनिर्भरतामा चल्ने मुलुकको सार्वभौमसत्ताको अभ्यास सधैं खण्डित र सम्झौता परस्त रहन्छ। यो चेत नेपालको नीति निर्माणमा हस्तक्षेपको हैसियत राख्ने आम र खास दुवै तहमा खुल्नु आवश्यक छ’, उनले भने, ‘यहाँका हुनेखाने परिवारका नेपालीहरूले विदेशमा शरणर्थीको दर्जा पाउन गरेका किर्ते र नेपाली नागरिकता त्याग्न गरेको मरिहत्तेले राष्ट्रिय स्वाभिमानमा निरन्तर कालो धब्बा लाग्दै आएको छ। यी मुद्दाहरूलाई सोझै सम्बोधन गर्नुको सट्टा सुकुलमुनि छोपेर देश अगाडि बढ्ने परिकल्पना गर्न सकिँदैन।’

सहरले आँखा घोच्छ 
डा. वाग्लेले व्यवस्थित सहरीकरण तथा पूर्वाधार निर्माण नेपालको अर्को खट्किएको विषय भएको बताए। पूर्वाधार निर्माणको लागि वर्षौं लाग्ने टिप्पणी गर्दै उनले भने, ‘संसारमा बाटो र अन्य पूर्वाधार कहाँ बन्दैनन् र मर्मत हुँदैनन्? तर, त्यो कार्य सीमित उपलब्ध जनसुविधामा सम्झौता नगरीकन कसरी गर्ने? त्यसैका लागि सार्वजनिक निर्माण संहिता सक्रिय हुनुपर्ने हो।’

नेपालको कम्तीमा एउटा पनि योजनाबद्ध र व्यवस्थित सहर नभएको र भविष्यमा पनि नबन्ने दाबी गर्दै उनले थपे, ‘यो सुन्दर देशका प्रत्येक सहरको रूप आकाशबाट हेर्दा आँखालाई कति घोच्छ– काठमाडौँ, पोखरा, विराटनगर, धनगढी वा अन्य कुनै पनि द्रुत गतिमा फैलिरहेका सहर?’ उनले यातायात, सञ्चार, ऊर्जा र जनसुविधाका पूर्वाधारहरू निर्माणको प्राथमिकता तय हुनु र स्रोत व्यवस्थापनको दीर्घकालीन रणनीति बन्नु आवश्यक भएको औंल्याए।

उनका अनुसार संघीय प्रणालीमा विकासका लागि प्रादेशिक र त्यसभन्दा पनि बढी स्थानीय सरकारहरूको भूमिका महत्त्वपूर्ण छ । आर्थिक संघीयताका ६ वटा अवयव व्यवस्थित गर्न मुख्यतः स्थानीय सरकारहरू सक्षम हुनु आवश्यक छ। उनले उत्पादनका साधन र उच्च लाभ दिने सम्भावित व्यावसायिक उत्पादनहरूको पहिचान, आफ्नो अर्थतन्त्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको नक्सांकन र तिनको दिगो सदुपयोगका लागि यथार्थपरक कार्ययोजना, पुँजीगत स्रोतहरूको पहिचान, आवश्यकता विश्लेषण र सर्वाङ्गीण बजेट निर्माण, उपलब्ध पुँजीको प्रभावकारी खर्च गर्ने क्षमताको विस्तार, विधिसम्मत्, प्रभावकारी एवम् पारदर्शी खर्च प्रणालीको अवलम्बन र भ्रष्टाचाररहित शासनको संस्थागत विकेन्द्रीकरणबाट समृद्धि सम्भव भएको बताए। 

अनौपचारिक अर्थतन्त्रको खतरा 
डा. वाग्लेले नेपालको कम्तीमा दुईतिहाइ अर्थतन्त्र अनौपचारिक, छाया वा अवैध भइसकेको जिकिर गरे। उनले भने, ‘सिंगै कृषि क्षेत्र र धेरै ससाना सेवा उद्योगहरू अहिले पनि अनौपचारिक ढंगले नै चलिरहेका छन्, जसलाई अवैध भन्न मिलेन। यसबाहेक वास्तवमा नै छाया वा अवैध अर्थतन्त्र पनि अत्यधिक ठूलो, करिब दुईतिहाइ भइसकेको छ । हुन्डी, सुन, पुँजी पलायन, ढाँटछलयुक्त व्यापार, राजनीतिको अपराधीकरण, बिलासी खर्च र घरजग्गा सट्टेबाजीमा छाया अर्थतन्त्रको लगानी छ।’ उनले अनौपचारिक र छाया दुवै अर्थतन्त्रलाई औपचारिक घेराभित्र समेट्न नसक्ने हो भने नेपालको अस्तित्वमै यसले छिट्टै संकट निम्त्याउने ठोकुवा गरे। 

उनले देशको अवस्था देखेर स्वयं चिन्तित रहेको बताए। उनले थपे, ‘अचेल मेरो मस्तिष्कलाई त्यही खुबै बज्ने एउटा राष्ट्रिय गीतले साँच्चै चिथोर्न थालेको छ, नेपालीहरूको छाती कतै वास्तवमै संवेदनशील मुटुले होइन, पहराले बनेको त छैन? त्यहाँ न्यानो रगत होइन, चिसो छहरा नै त बग्दैन? अबको दश वर्षमा मेरो यो आशंका शतप्रतिशत गलत साबित भइदिए यो देशको भविष्य उज्ज्वल बनाउने ऊर्जा पर्याप्त हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .