राजनीति


समयसीमाभित्र सरकार गठन गर्ने सत्ता गठबन्धनको प्रयास जारी, फेरि बैठक बस्दै

समयसीमाभित्र सरकार गठन गर्ने सत्ता गठबन्धनको प्रयास जारी, फेरि बैठक बस्दै

नेपालखबर
पुस ९, २०७९ शनिबार ११:३८, काठमाडौँ

सत्ता गठबन्धनका दलले तोकिएको समय सीमाभित्र नयाँ सरकार गठन गर्ने प्रयास जारी राखेका छन्। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई दिएको समय आइतबार साँझ ५ बजे सकिँदै छ। उक्त समयभित्र बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न आउन राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री पदमा दाबी पेस गर्न भनेको छ।

सोअनुरूप बहमुत जुटाई नयाँ सरकार गठन गर्न सत्तारुढ गठबन्धनकादलबीच छलफल जारी रहे पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सहमति जुट्न नसकेको हो। 

सरकार नेतृत्वकै विषयमा कांग्रेस र माओवादी केन्द्र आआफ्ना अडानबाट पछि नहटेपछि शुक्रबार सत्ता गठबन्धनको बैठक नै बस्न सकेन। तर, शुक्रबार बेलुकी देउवा र प्रचण्डबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो। तर छलफल बिनानिष्कर्ष टुंगियो। 

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले नयाँ सरकार गठनका विषयमा छलफल गर्न पुनः आज (शनिबार) दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने बताएका छन्। 

उनले राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको समयसीमाभित्रै सत्ता गठबन्धनबीच सहमति हुने दाबी पनि गरेका छन्। 

‘छलफल हुँदै छ। प्रचण्डजीले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने प्रस्ताव राख्नुभएको छ,’ प्रवक्ता महतले शनिबार बिहान नेपालखबरसँग भने, ‘सरकार बनाउन दिएको समयसीमाभित्रै सहमति गर्ने कोसिस गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .