राजनीति


विकल्पमा गएर पनि सरकार बनाउनुपर्ने माओवादीको निष्कर्ष

एमालेसँग पनि समानान्तर संवादमा नेताहरू
विकल्पमा गएर पनि सरकार बनाउनुपर्ने माओवादीको निष्कर्ष

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार १३:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले विकल्पमा गएर पनि सरकार बनाउनैपर्ने निष्कर्ष निकालेको छ।

आइतबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा उपलब्ध पदाधिकारीको बैठकले अर्काे विकल्पमा गएर पनि राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार निर्माण गर्नुपर्ने ठहर गरेको हो।

एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य नेताहरुसँगको छलफल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासँगको वार्ताका विषयमा ब्रिफिङ गरेका थिए।

प्रचण्डले बैठकमा कांग्रेसले शनिबार बिहानको बोली साँझ फेरेको भन्दै आश्चर्य प्रकट गरेको ती पदाधिकारीले बताए।

महासचिव देव गुरुङले प्रचण्डको ब्रिफिङबारे भने, ‘समयसीमाभित्र सरकार दिन नसके विकल्पमा जानुप¥यो, सरकार दिन नसके देश अस्थिरता हुन्छ र मध्यावधितिर जान्छ, हाम्रो प्रयास यही गठबन्धनको सरकार बनाएर ५ वर्ष सदन चलाउने भन्ने हो।’

प्रचण्डले बैठकमा कांग्रेसले विगतको समझदारी बिर्संदै गए सरकार बन्न नसक्ने अवस्था आउने बताए। ‘तर, फेरि कांग्रेसले यसैगरी समझदारी विर्सदै जाने हो भने पनि सरकार बन्न सक्दैन, त्यसबेला माओवादीले सरकार बनाउनबाट चुक्नु हुँदैन, जसरी पनि सरकार निर्माणमा लाग्नुपर्छ, त्यसबेला एउटा विकल्प नभए अर्काे विकल्पमा गएर पनि सरकार दिनुपर्छ,’ उनले थपे।

कांग्रेससँग सहमति नजुटिरहेका बेला माओवादी र एमालेका पदाधिकारी तहका नेताहरु निरन्तर वार्ता गरिरहेका छन्। 

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेका छन्। अहिले गठबन्धनको बैठक बालुवाटारमा जारी छ। यदी यही बैठकले कुनै ठोस् निर्णय नगरे परिस्थिति अन्यत्र मोडिन सक्ने नेताहरु बताउँछन्।

तर, कांग्रेसले अन्तिम अवस्थामा आफ्नो अडान छोड्ने संकेत गरेको नेताहरु बताउँछन्।
शनिबार बसेको गठबन्धनको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुबै दाबी कांग्रेसले नछोडेपछि समझदारी बन्न सकेको थिएन।

सरकारको पहिलो नेतृत्वमा माओवादी दाबी छ। उसले अडानमै कायम रहने बताएको छ। शनिबार पनि अध्यक्ष प्रचण्डले पहिलो सरकारको नेतृत्व गर्नुपर्ने अडानबाट पछि हटेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .