राजनीति


सरकारलाई एमाले सांसदको प्रश्न- कालापानीमाथिको दाबी छोड्न खोजिएको हो?

सरकारलाई एमाले सांसदको प्रश्न- कालापानीमाथिको दाबी छोड्न खोजिएको हो?

नेपालखबर
असार ३१, २०८३ बुधबार १४:२६, काठमाडौँ

नेकपा (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने आफ्नो माग यथावत रहेको जनाएको छ। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गङ्गादेवी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र आपत्तिजनक रहेको भन्दै सरकारको आलोचना गरिन्। सांसद श्रेष्ठले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिले देशको सार्वभौमिकतामाथि आँच पुर्‍याएको बताइन्। 

‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती आपत्तिजनक छ। यो अभिव्यक्ति सच्याइनुपर्छ भन्ने हाम्रो माग जारी छ,’ उनले भनिन्। 

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा सरकारको धारणा माग गरिन्। ‘भारतले हाम्रो भूमि फिर्ता गर भन्यो भने कहाँको दिनुहुन्छ? कि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजेको हो?,’ उनले प्रश्न गरिन्। 

सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाप्रति सरकार गैरजिम्मेवार बनेको उनको आरोप थियो। ‘भारतीय सेनासँग सुस्तामा नागरिक लडिरहेको देख्दा धिक्कार छ नेपाली सेना र नेपाल सरकारलाई,’ श्रेष्ठ भनिन्, ‘सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय त जोगाएन जोगाएन, देशको सीमा रक्षाको लागि नपठाउने नेपाली सेना के को लागि हो सरकार?’

सीमाका जङ्गे पिल्लरहरू सारिँदा त्यहाँका जनताले असुरक्षित महसुस गरिरहेको उनले उल्लेख गरिन्। ‘सीमा क्षेत्रका नागरिकलाई आतंकित बनाएको तर सरकारको बेवास्ताले मन कटक्क खान्छ,’ उनले भनिन्, ‘सीमाको जङ्गे पिलर खिइँदै जादा त्यहाँका जनता राति सुत्दा नेपाल र बिहान उठ्दा भारतको हुँदा कसरी बस्नुभएको होला?’

सरकारले भ्रष्टाचार नियन्त्रण र कारबाहीको नाममा ‘नाटक’ गरिरहेको टिप्पणी गर्दै उनले गरिब र सुकुम्वासीका बस्तीमा डोजर चलाएर जनतालाई उठिबास लगाएकोमा आक्रोश व्यक्त गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad