राजनीति


एमालेले चौध वर्षपछि समर्थन गर्दा तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

एमालेले चौध वर्षपछि समर्थन गर्दा तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

नेपालखबर
पुस १०, २०७९ आइतबार १९:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भन्ने गर्थे, 'मैले कांग्रेस र एमालेका धेरै साथीहरुलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको छु।'

झलनाथ खनाल र केपी शर्मा ओलीलाई आफैँले प्रधानमन्त्री बनाएको प्रचण्डको भनाइ थियो। 

त्यतिमात्रै होइन, बालुवाटारबाट बिदा हुन लागेका शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाएको जश माओवादी अध्यक्ष प्रचण्डलाई नै जान्थ्यो। 

त्यही भएर प्रधानमन्त्री बनाइदिने किङ मेकर नै मानिन्थे उनी। 

तर, ४ मंसिरको चुनावबाट जम्मा ३२ सिट जितेको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ। प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका छन्। उनी १४ वर्षपछि फेरि एमालेकै साथ मिलेर तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्। 

नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन प्रचण्डलई मिलेको छ।

१६९ सांसदको समर्थन पाएका प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

यसपटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले पहलकदमी लिएको छ।

कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन नभएपछि प्रचण्डलाई एमालेले विश्वास दिलाएर प्रधानमन्त्री बनाउन भूमिका खेलेको थियो।

आइतबार एमालेको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदको समर्थन जुटाउने बैठक ओली निवास बालकोटमा बसेको थियो।

र, त्यही बैठकले प्रचण्डलाई साढे २ वर्ष प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

यो समेत एमालेको प्रस्तावमा माओवादीले दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर पनि पाएको छ।

२०६५ पहिलो पटक भएको संविधान सभाको चुनावमा सबैभन्दा ठूलो दल बनेको माओवादीलाई सरकार बनाउन एमालेले समर्थन गरेको थियो।

तर, प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन गर्नबाट तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले रोकेका थिए।

उनले कटुवाललाई थमौती नै गरेपछि सरकारका लागि प्रष्ट बहुमत हुँदाहुँदै पनि सरकार बनेको नौ महिनामै प्रचण्डले राजीनामा दिएका थिए।

त्यही बेला एमालेको समर्थन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ महिनामै राजीनामा दिएका थिए।

त्यसपछि २०७४ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए तर त्यसबेला कांग्रेसको समर्थन थियो।

संसदीय राजनीति थाले यता (२०६४) माओवादी केन्द्रले चार पटक सरकारको नेतृत्व गरेको छ।

प्रचण्ड २०६५ र २०७४, डा. बाबुराम भट्टराई २०६८। अहिले फेरि प्रचण्ड प्रधानमन्त्री बनेका छन्। यो उनको संसदीय राजनीतिमा प्रधानमन्त्रीका लागि तेस्रो इनिङ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad