राजनीति


प्रचण्डको योजना : सचिवालयमा सिनियर टिम, युवा सांसदलाई मन्त्री

प्रचण्डको योजना : सचिवालयमा सिनियर टिम, युवा सांसदलाई मन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १५:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा सांसदलाई मन्त्री बनाउने योजना बनाएका छन्।

३ स्वतन्त्रसहित ७ दलबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले आफ्नो कार्यकाल स्वर्णिम बनाउन अनुभवी नेताहरुको मुख्य सहयोग लिन चाहेपछि युवा सांसदलाई सरकारमा लिन खोजेका हुन्।

धेरै दल र सांसदको समर्थन रहेकाले माओवादीले कति मन्त्रालय पाउँछ यकिन छैन, तर, पाउने सबै मन्त्रालयमा यसपटक युवा नै मन्त्री हुने सम्भावना रहेको उनीनिकट स्रोतले नेपालखबरलाई बतायो।

प्रधानमन्त्री प्रचण्डले सल्लाहकार समूहमा अनुभवी र परिपक्क नेताको सहयोग लिन चाहेका छन्।

कम्युनिष्ट नेतामा सबैभन्दा बढी प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्ड यो तेस्रो कार्यकाललाई स्वर्णिम बनाउन चाहेका छन्। 

‘प्रधानमन्त्रीले यसपटक मन्त्रीहरुमा युवा सांसद लिने योजना बनाउनुभएको छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘कार्यकाललाई सफल बनाउने उहाँको चाहना छ।’

यसबाहेक अन्य दलबाट केही मन्त्रीहरु सरकारमा सामेल गराउँदा वरियता र सिनियर विषय मिचिएको छ।

जसकारण पुराना र अनुभवी मन्त्री बन्न हिच्किचाहेका छन्। त्यसबाहेक सोचेजस्तो मन्त्रालय नपाउने भएपछि माओवादीका सिनियर सांसदहरु मन्त्री बन्न मानेका छैनन्।

सरकारका कामकारवाही प्रभावकारी बनाउन अनुभवी नेताहरुको सुझाव लिनुपर्ने निष्कर्ष उनको छ।

सोमबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म सचिवालयलाई पूर्णता दिइसकेका छैनन्। 

सुशासनलाई जोड दिएर सरकारको काम र सेवा प्रवाहलाई जनमुखी बनाउन खोजेका प्रधानमन्त्री आफूलाई विश्वासिलो सहयोग गर्ने समूह निर्माण गर्न केही नेताहरुसँग छलफलमा छन्। 

‘सल्लाहकार टिम सिनियर र परिपक्क खालको बन्छ,’ सचिवालयका ती सदस्यले थपे, ‘सुशासनमा केन्द्रित हुने र कार्यकाल स्वर्णिम बनाउन पनि बलियो टिम फर्मेशन गर्नुहुन्छ।’

माओवादीबाट मन्त्रीबन्ने चर्चामा रहेकाहरुमा सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, महिन्द्र राय यादव र हितबहादुर तामाङ छन्।

आफू प्रधानमन्त्री भएकोले पार्टीको गतिविधि ठप्प नहोस् भनेर प्रचण्डले सचिवालयका केही नेतालाई पार्टी निर्माणमै केन्द्रित गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .