राजनीति


ओलीले कसलाई बनाउलान् सभामुख?

ओलीले कसलाई बनाउलान् सभामुख?

सागर न्यौपाने
पुस १९, २०७९ मंगलबार ७:५०, काठमाडौँ

सात दलीय सत्ता गठबन्धनमा कुनै गडबडी नआए नेकपा एमालेले राष्ट्रपति र सभामुख पाउने निश्चित नै छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइसकेकोले व्यवस्थापिकाको नेतृत्व एमालेकै हुने नेताहरु बताउँछन्। 

नयाँ संसद् आएकोले पुस २५ गते पहिलो संसद् बैठक बस्दैछ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिएपछि सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने संसद् सचिवालयको तयारी छ। 

प्रतिनिधि सभाका २७५ सांसदलाई हाँक्ने जिम्मेवारी कसले पाउला? एमालेले कसलाई बनाउला सभामुख? यही प्रश्न एमालेको पार्टी कार्यालय च्यासल पुग्ने धेरै नेतालाई सोधिन्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्याएको नेताले त्यो अवसर पाउने हुन्। त्यही भएर यही नेता सभामुख बन्छ भनेर ठोकुवा गरेर भन्न कुनै नेता तयार छैनन्। तर, धेरैले एक जना पदाधिकारीतिर संकेत गर्ने गरेका छन्।  

ती हुन्, सचिव छविलाल विश्वकर्मा। दशौँ महाधिवेशनबाट सचिव निर्वाचित भएका उनी एमालेको इतिहासमै दलित समुदायबाट पदाधिकारी बन्ने पहिलो नेता पनि हुन्। 

विश्वासपात्र, पुरानो, विगतदेखि साथ दिएको र अप्ठेरो पर्दा खुलेर समर्थन दिएको हिसाबले विश्वकर्मा सभामुख हुनसक्ने एमालेका नेताहरुको अनुमान छ। रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित विश्वकर्मालाई सभामुख बनाएर यसपटक ओली आफूलाई लगाएका सबै गुण तिर्ने योजनामा छन्।

सभामुख बन्ने चर्चामा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराएर प्रतिनिधि सभा पुगेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, कास्कीबाट निर्वाचित विद्या भट्टराई पनि छन्। 

तर, यी सबैभन्दा बढी सम्भावना विश्वकर्माकै देख्छन्, एमालेका एक पदाधिकारी।

‘मैले थाहा पाएसम्म र अध्यक्षको मनोविज्ञान बुझे अनुसार उहाँले यसपटक छविलालजीलाई सभामुख बनाउनुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म उहाँकै पल्ला भारी छ। चुनाव जित्नुभएको, शान्त स्वभाव र सधैँ नेतृत्वको रक्षामा लागिरहनुभयो। सभामुखमा खास स्वभाव पनि चाहिन्छ, त्यो उहाँमा छ।’

अध्यक्ष ओलीले आफूलाई विगतमा साथ दिएका सबै नेताहरुलाई पालैपालो अवसर दिएकोले पनि विश्वकर्मा सभामुख बन्नसक्ने पहिलो र बलियो दाबेदार हुन्। 

‘चर्चा त हाम्रा उपमहासचिव पीएसको पनि छ, उहाँ पनि अनुभवी, शालीन, देखेको कुरा भन्ने मिलनसार नेता हो,’ ती पदाधिकारीले थपे, ‘विद्या भट्टराईजी पनि बौद्धिक र महिला नेता हुनुहुन्छ। उहाँको नाम चलेकै छ, अध्यक्षको यसो धारणा बुझ्दा यी दुई जनाभन्दा बढी सम्भावना छविजीकै बढी देखिन्छ।’

‘अध्यक्षले निर्णय गर्ने भएकोले पछि हेरफेर नहोला भन्न सकिन्न, फेरि यो नयाँ गठबन्धन बनेको छ, कतिपय कुरा मिलाउँदा परिस्थिति फेरिए बेग्लै हो, नत्र मैले अध्यक्षको चाहना यसपटक छविजीकै पक्षमा देख्छु,’ उनले भने। 

एमालेभित्र पृथ्वीसुब्बा गुरुङलाई सभामुख बनाउनुपर्ने लबिङ भइरहेको छ। कतिपयले भने भट्टराईको नाम अघि सारेका छन्।

एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचित र पदाधिकारीमध्ये एकजना सभामुख बन्ने बताए। 

‘हाम्रो पार्टीबाट प्रत्यक्ष निर्वाचित र पदाधिकारी रहनुभएका एकजना वरिष्ठ नेता सभामुख बन्नुहुनेछ,’ रिमालले नेपालखबरसँग भने, ‘अध्यक्षले निर्णय गरिसक्नुभएको छैन।’

एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा सहमति हुँदा सभामुख र प्रधानमन्त्री आधाआधा कार्यकाल हुने सहमति भएको नेताहरु बताउँछन्। 

यदि यही सहमति कायम रहेमा पहिलो कार्यकालको साढे २ वर्ष सभामुख हुने अवसर विश्वकर्माले पाउनेछन्। 

आठौँ महाधिवेशनदेखि निरन्तर ओलीकै पक्षमा उभिएका विश्वकर्माले अहिलेसम्म कुनै अवसर पाएका छैनन्। दुई पटक ओली प्रधानमन्त्री हुँदा पनि सत्तामा अवसर नपाउने पदाधिकारी उनी मात्र हुन्। 

सुवास नेम्वाङ २०६३ देखि संविधान सभा अध्यक्ष हुँदै एमाले संसदीय दलको उपनेता बनिरहे सुवास नेम्वाङ। विद्यादेवी भण्डारी दुई पटक  राष्ट्रपति बनिन्। विष्णु पौडेल पनि पटकपटक अर्थमन्त्री बने। 

नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, शंकर पोखरेल र विष्णु रिमाल सबैले सत्तामा महत्वपूर्ण अवसर पाए।

तर, विश्वकर्माले भने कुनै अवसर पाएका छैनन्।

त्यसो त विश्वकर्मा सुरुवाती दिनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालनिकट थिए।

दोस्रो जनआन्दोलनपछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा कृषिमन्त्री पनि बने। 

तर, एमालेको आठौं महाधिवेशनपछि भने ओलीको पक्षमा खुले।

को हुन् विश्वकर्मा?
पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र भारत प्रवास इन्चार्ज भएर काम गरेका ६१ वर्षीय विश्वकर्मा अघिल्लो वर्ष (मंसिर ११(१५) चितवनमा भएको दसौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका हुन्। 

जनकपुरमा भएको सातौँ महाधिवेशनबाट उनी खुला प्रतिस्पर्धाबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पोलिटब्युरो सदस्यको जिम्मेवारीमा पुगे। २०७१ सालमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य भएका हुन्।  

२०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरू गरेका उनी २०३८/३९ सालतिर बुटवल बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भएका थिए। 

२०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक हुन्। २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उनी उपाध्यक्ष र २०५१ सालमा महासचिव बने। 

२०५५ सालमा पोखरामा सम्पन्न मुक्ति समाज नेपालको सम्मेलनबाट अध्यक्ष बनेका उनी नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए। 

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् बनेका उनी दोस्रो संविधान सभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भए। २०७४ मा भने उनले चुनाव जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .