नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकतार्नका लागि वार्ता समिति बनाउने भएको छ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतवारदेखि शुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम
भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नामको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह-अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए।
नेसपामा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन (पूर्ण पाठ)
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले बैठकले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने बताए। समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरणका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनले बताए।
‘हामीले एउटा दस्तावेज बनाएका छौँ। खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकतासहितको दस्तावेजमा पाँचवटा खण्ड राखेका छौँ। त्यो दस्तावेजमा हामीले नयाँ शक्ति पार्टी निर्माण गरेर यहाँसम्म आउँदा के आरोह अवरो पार गर्यौँ, के उपलब्धि भयो? के क्षति भयो? त्यसबारे समीक्षा गरेका छौँ', उनले भने, 'दोस्रो, निर्वाचनको समीक्षा पनि गरेका छौँ। अब समाजवादी ध्रुवीकरणको आवश्यकबारे हामीले जोड दिएर दस्तावेजमा उल्लेख गरेका छौँ। अब कसरी जाने भन्ने पनि छ। अर्थात यो दस्तावेजले नै सबै एजेण्डाहरु समग्रमा बोकेको छ। यो दस्तावेजबाहेक संगठन कार्यविभाजनबारे अर्को एजेन्डा राखेका छौँ। भोलिसम्म हामी एउटा निस्कर्षमा पुग्छौँ।'
उनले समाजवादी ध्रुवीकरण भनेकै पार्टी एकतासँग सम्बन्धित कुरा रहेको बताए। 'हामी यो बैठकको अन्त्यसम्म पुग्दा मुख्यतः माओवादी केन्द्रसँगको एकता गर्न वार्ता समिति पनि बनाउँछौँ। त्यसले अरु पार्टीहरुसँग पनि समाजवादी ध्रवीकरणको लागि आवश्यक छलफल, बहस र पहल-प्रयत्न गर्न अधिकारसहितको त्यो निर्णय गर्छौं,’ उनले भने।
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको उनले बताए। प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको छ।
आगामी कार्ययोजनाअन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख छ। सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवारसम्म चल्ने बताए।
Shares

प्रतिक्रिया