नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने बताएका छन्।
मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमा धारणा राख्दै उनले भने, ‘हामी सरकारमा सहभागी हुँदैनौं र प्रतिपक्षमा बस्छौँ।’
देउवाले सम्बोधनका क्रममा संविधानको रक्षाका लागि कांग्रेसले यो कदम चालेको पनि बताएका छन्।
'प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले संविधानको पूर्णकालीन संसदको व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोहोर्याउनु भएको छ', उनले भने, 'संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ। सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्थाअनुरुप विघटित संसदको पुनर्स्थापना गरेको थियो। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ। वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी हो।'
उनले प्रचण्डले आग्रह गरेअनुसार समर्थन गरेको पनि बताएका हुन्। 'सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले आग्रह गर्नु भएअनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वासका साथै मुलुकमा विद्यमान चुनौतिको सामाना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ', उनले भने।
कांग्रेसले एकीकृत समाजवादीले जस्तै निर्णय लिएको हो। समाजवादीले पनि सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय लिएको छ।
Shares

प्रतिक्रिया