राजनीति


कांग्रेस–एमालेले एकैपटक गुन तिर्दा प्रचण्डले पाए प्रचण्ड बहुमत

कांग्रेस–एमालेले एकैपटक गुन तिर्दा प्रचण्डले पाए प्रचण्ड बहुमत

सागर न्यौपाने
पुस २६, २०७९ मंगलबार १९:३५, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दुई तिहाइभन्दा बढी सांसदको विश्वास पाएका छन्। मंगलबारको संसद् बैठकमा विश्वासको मत लिएका प्रचण्डलाई कांग्रेस–एमालेसहित १० राजनीतिक दल र ३ स्वतन्त्रगरी २६८ सांसदले मत दिए। मतदानमा सहभागी सांसद संख्याको ९९ प्रतिशत मत प्रचण्डले पाए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने प्रचण्डको विपक्षमा मत दिए।

यसरी संसद् प्रतिपक्षीविहीन हुनेगरी विश्वासको मत पाउने प्रचण्ड दोस्रो नेता भएका छन्। यसअघि २०५१ मा प्रधानमन्त्री मनमोहन अधिकारीले कांग्रेससहित दलको १९८ मत पाएका थिए।

उतिबेला कांग्रेसले मनमोहनको अल्पमतको सरकारलाई विश्वासको मत दिएको थियो। तर, यसपटक प्रधानमन्त्रीमा बहुमत हुँदाहुँदै प्रचण्डलाई कांग्रेसले मत दियो।

कांग्रेसका ८९ मध्ये मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत बैठकमा अनुपस्थित थिए भने कांग्रेसकै टेकबहादुर गुरुङ निलम्बित भएकाले मत दिन पाएनन्। 

गणतन्त्र स्थापनापछि यति धेरै मत पाउने प्रचण्ड पहिलो नेता भएका छन्। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११० गरी २७५ सांसद छन्। 

नेकपा एमालेलगायत ७ दल र ३ स्वतन्त्रसहितको समर्थनमा प्रधानमन्त्री बनेकाले प्रचण्डले १६९ सांसदबाट विश्वासको मत पाउने निश्चित थियो। 

तर, मंगलबार बिहानै बसेको कांग्रेस पदाधिकारी बैठक र त्यसपछिको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराए। सो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले असहमति राखेका थिए। 

तर, प्रधानमन्त्रीमा विश्वासको मत दिनेबेलामा कांग्रेस एकजुट भयो। संसदमा उपस्थित सबैले प्रचण्डलाई मत दिए।

कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिएको बताए।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको पूर्णकालीन संसदको व्यवस्थाविपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोहोर्याउनुभयो,’ देउवाले भने, ‘संविधानको रक्षाको पक्षमा प्रधानमन्त्री प्रचण्ड उभिनु हुनेछ भन्ने विश्वासका साथ उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्नेछ।’

कांग्रेसले दिएको विश्वासको मतलाई कतिपयले स्वाभाविक नभएको टिप्पणी गरेका छन्। सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यसमा शंका गरे।

‘नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ, यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने, स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘ढोक्सा हो भने जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल। केही यसभित्र भोलिका निम्ति अरुखालका कुराहरु सोचिएको छ भने, ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोलीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन।’

कांग्रेस–एमालेले प्रचण्डलाई तिरेको गुन
संसदीय व्यवस्थामा आएपछिका चार वटा चुनावमा भाग लिएको नेकपा माओवादी केन्द्रले ६ वटा सरकार निर्माणमा मुख्य भूमिका खेल्यो। 

माओवादीको साथ पाएकैले सांसद संख्या कम भए पनि एमालेले (२०६८) र कांग्रेसले (२०७८) मा सरकारको नेतृत्व गरेको थियो।

पहिलो संविधान सभाको सबैभन्दा ठूलो दल (२२९) जितेको माओवादीले एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई (२०६८) प्रधानमन्त्री बनाउन सहयोग गर्यो।

दोस्रो संविधान सभाको तेस्रो दल बनेपछि प्रचण्डले एमाले र कांग्रेसका नेतालाई पालैपालो प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेले।

पहिलो संविधान सभाबाट ठूलो दल बनेपछि प्रधानमन्त्री चुनिएका प्रचण्डले नौ महिनामै सरकारबाट राजीनामा दिनुपर्यो।

त्यसपछि कांग्रेस, एमाले, मधेशवादी दलको समर्थनमा  माधवकुमार नेपाल नेतृत्वको सरकार बन्यो। माओवादी प्रतिपक्षमा बस्न बाध्य भयो। त्यही एउटा सरकारबाहेक अरु सबै सरकार बनाउन प्रचण्डले दिएको साथ नै निर्णायक थियो।

माओवादी केन्द्रको साथ पाएरै तत्कालिन एमालेका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाए। प्रचण्डले पालैपालो लगाएको गुन कांग्रेस–एमालेले एकैपटक तिरेको चर्चा पनि भइरहेको छ।

अहिलेको संसदमा माओवादी केन्द्रको जम्मा ३२ सांसद छन्। संसदमा संख्याको हिसाबले माओवादी तेस्रो स्थानमा छ। ८९ सांसद भएको कांग्रेस र ६९ सांसद भएको एमालेभन्दा माओवादी निकै कमजोर छ।

प्रतिनिधि सभाको चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले अन्तिम अवस्थामा गठबन्धन छोडेर एमालेसँग मिली सरकार बनाएको हो। गठबन्धन निर्माणमा ओलीको भूमिका ज्यादा देखिन्छ। ओलीकै योजनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

उता प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले पनि विगतको सहयोग तिरेको छ। कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले तत्कालका लागि गुण र दोषका आधारमा सहयोग गरेको बताए। 

‘विगतको गुन तिरेको भन्दा पनि ओलीजीले संसद् विघटन गरेर मध्यावधिमा जाने संकेत गर्नुभएपछि हामी संविधान रक्षाका लागि एकै ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेका हौँ,’ महतले नेपालखबरसँग भने, ‘संविधानको रक्षा गर्ने चुनौती प्रधानमन्त्री प्रचण्डजीलाई छ, यो उहाँमाथिको परीक्षण पनि हो, सरकारमा जाँदैनौँ, अहिले गुण र दोषका आधारमा समर्थन दिएका मात्र हौँ।’

एमालेका एक पदाधिकारीले प्रचण्डलाई गुण लगाएर विगतको प्रश्नका जवाफ दिएको बताए।

‘उहाँले यही संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री बनाउन सक्नुहुन्छ मैले त बनाइदिएकै थिए नि भन्नुभएको थियो,’ ती सांसदले भने, ‘हाम्रो अध्यक्षले प्रधानमन्त्री बनाएर देखाइदिनुभयो।’

माओवादीको सांसद संख्याका आधारमा असम्भव लाग्ने काम एमालेले गरिदिएको उनले बताए।

‘माओवादीको सांसद कति? अब प्रधानमन्त्री पाउने सम्भावना थियो कि थिएन,’ उनले भने, ‘कांग्रेससँग गठबन्धन बनाए पनि प्रधानमन्त्री त बनाएन नि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .