सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले कम्तीमा चारजना नेतालाई मन्त्री बनाउने तयारी गरेको छ।
यदि गठबन्धनमा सहमति भएमा माओवादीबाट उपमहासचिव शक्ति बस्नेतलाई सरकारको प्रवक्ता बनाउने गरी लैजाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना छ।
यही माघ २ गतेभित्र मन्त्रिमण्डल विस्तार गरिसक्ने प्रचण्डको तयारी छ। तर, सत्ता साझेदार दलको बैठक आज बसेन। यस्तोमा भोलि शनिबार केपी शर्मा ओली-प्रचण्ड भेट हुने सम्भावना छ। गठबन्धन बैठक नबसे ओली- प्रचण्ड भेटेर एउटा मोडालिटी बनाउने तयारी छ।
तर वरीयतामा कुरा नमिलेपछि बस्नेतले मन्त्री हुन चाहेका छैनन् । बरु उनी सरकारलाई सहयोग गर्ने योजनामा छन्।

त्यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले प्रदेश १ बाट सुदन किराती र अमनलाल मोदिमध्य एकजना ल्याउनेछन।
यस्तै मधेश प्रदेशबाट महिन्द्रराय यादव मन्त्री बन्ने सम्भावना बलियो छ।
यसैगरी लुम्बिनी प्रदेशबाट रेखा शर्माको नाम पहिलो नम्बरमा छ।
नेकपा एमाले महासचिव शंकर पोखरेललाई हराएर सांसद भएकोले शर्माले नै मन्त्री बनाउने देखिन्छ।
मन्त्रीको लिस्टमा रहेकी उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको छ।
'उर्मिला कमरेडलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी छ,' प्रचण्डनिकट नेताले भने, 'उहाँले यो कुरा मान्नु हुनेछ।'
माओवादीले युवा नेतालाई पनि मन्त्री बनाउने बताएको छ। त्यसो हुँदा किराती, यादव र शर्मा माओवादी मन्त्री बन्ने निश्चित छ। यसअघि माओवादीबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सरकारमा गइसकेका छन्।
792
Shares

प्रतिक्रिया