ad ad

राजनीति


रुस र चीनतिर संकेत गर्दै नुल्यान्डले प्रचण्डसँग भनिन् : अधिनायकवादविरुद्ध नेपाल र अमेरिका मिल्नुपर्छ

रुस र चीनतिर संकेत गर्दै नुल्यान्डले प्रचण्डसँग भनिन् : अधिनायकवादविरुद्ध नेपाल र अमेरिका मिल्नुपर्छ

सन्तोष घिमिरे
माघ १७, २०७९ मंगलबार ९:१०, काठमाडौँ

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अधिनायकवादीहरुले बलपूर्वक विश्वव्यापी नियमलाई कब्जा गर्न खोजिरहेको भन्दै लोकतन्त्रको रक्षाका लागि अमेरिकाले नेपालको समेत साथ चाहेको बताएकी छन्। 

दुई दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले चीन र रुसको नाम नलिई त्यस्तो बताएकी हुन्। उनले लोकतन्त्र बचाउने विश्वव्यापी लडाइँमा नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार रहेको समेत बताइन्। 

नेपालले लोकतन्त्र सुदुढीकरणका लागि चालेका कदम यो क्षेत्रका लागि मात्रै नभएर विश्वभरकै लागि अनुकरणीय रहेको उनको भनाइ थियो।

‘नेपालमा हालै भएका चुनाव पनि लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण रहे। हामी अहिले विश्वभर अधिनायकवादीले बलपूर्वक विश्वव्यापी नियमलाई आफ्नो हातमा लिन प्रयास गरिरहेको देख्न सक्छौँ,’ उनले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘तर, नेपाल र अमेरिका त्यो बाटोमा हिँड्दैनन्। यी दुवै मुलुक आफ्ना जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न चाहन्छन्। जनताको चाहनाद्वारा शाषित हुन चाहन्छन् र सरकारले जनताको हितमा काम गर्छन्। यो नै नेपाल र अमेरिकाको लोकतन्त्रको मुख्य अवयव हुन्, त्यसकारण हामी लोकतन्त्रको रक्षाका लागि मिलेर काम गर्नुपर्छ। मैले यही कुरा यहाँको सरकारसमक्ष बताएँ।’

अमेरिकाले आफूलाई लोकतन्त्रको पहरेदार ठान्दै आएको छ। उसले खासगरी आफ्ना प्रतिद्वन्द्वी मुलुक रुस र चीनलाई अधिनायकवादीको संज्ञा दिने गर्छ। चीन र रुस एकातिर, अमेरिका सहित पश्चिमा शक्ति अर्कोतिर भई विश्वराजनीति धु्रवीकृत भइरहेका बेलामा नेपाल आएकी अमेरिकी वरिष्ठ अधिकारीले लोकतन्त्रको रक्षामा नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार रहेको बताएकी हुन्। 

चीन र रुस जस्ता मुलुकसँग नेपालको सम्बन्ध सघन नहोस् भन्नेमा अमेरिकी चिन्ता देखिन्छ। अधिनायकवादी शासनव्यवस्था भएका मुलुकसँग नेपालको सम्पर्क बढे अमेरिकी प्रभाव कम हुने विश्लेषण छ। युक्रेन मामिलादेखि ताइवानसम्मका विश्वव्यापी भूराजनीतिक मुद्दामा अमेरिकाले नेपालको साथ खोजेको छिपेको छैन। 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भएका अलगअलग भेटमा अमेरिकी उपमन्त्रीले लोकतन्त्रको सुदृढीकरणमा नेपाल अमेरिकासँगै अघि बढ्नुपर्ने धारणा राखिन्। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग उनले लोकतन्त्र, मानवअधिकार एवं जारी संक्रमणकालीन न्यायका मुद्दामा सघाउने प्रतिबद्दता जनाइन्। 

प्रधानमन्त्री प्रचण्डले नेपालले संविधानमार्फत् संघीय लोकतान्त्रिक प्रणाली संस्थागत गरेको बताए। उनले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको संक्रमणकालीन न्यायलाई राष्ट्रिय सहमतिमै टुंग्याउने बताए। उनले असंलग्न परराष्ट्र नीतिका आधारमा छिमेकी तथा अन्य मुलुकसँग असल सम्बन्ध राख्ने नीति अहिलेको सरकारको रहेको बताए। प्रचण्डले अमेरिकाको जारी सहयोगका लागि धन्यवाद पनि दिए। 

त्यसक्रममा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले एमसीसी अन्तर्गतका सडक र प्रशारण लाइन सम्बन्धी परियोजना कार्यान्वयनबारे चासो राखेकी थिइन्। अमेरिकाले अबका दिनमा एक अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी नेपाल पठाउने तयारी गरेको जानकारी पनि उनले गराइन्। नुल्यान्डले नेपालको आर्थिक समृद्धि र विकासमा अमेरिकाको साथ रहने बताइन्।  

त्यसक्रममा उनले नेपालका सरकारी निकायका वेबसाइटमा साइबर हमला भएकोबारे अमेरिका जानकार रहेको भन्दै साइबर सुरक्षासम्बन्धी विज्ञ पठाएर नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको बताइन्। गतसाता नेपालका धेरै सरकारी निकायका वेबसाइटमाथि साइबर हमला भएको थियो। 

परराष्ट्रमन्त्री राईसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नुल्यान्डले एमसीसी अन्तर्गत परियोजना कार्यान्वयनका अलावा तिब्बती शरणार्थीका मानवअधिकारका विषयमा नेपालको नयाँ सरकारको पोजिसन के हो भनेर चासो राखेकी थिइन्। 

प्रचण्ड नेतृत्वमा सरकार बनेपछि यहाँ आउने नुल्यान्ड पहिलो अमेरिकी उच्च अधिकारी हुन्। यद्यपि उनको भ्रमण सूचीमा नेपालबाहेक भारत र श्रीलंका पनि छन्। 

सबै उच्चस्तरीय भेटघाटपछि पाटनमा भएको पत्रकार सम्मेलनमा नुल्यान्डले नेपालले लोकतन्त्रको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गरिन्। 

चीन र अमेरिकाबीच नेपाल सहित विश्वभर प्रतिद्वन्द्विता बढेकाले नेपालजस्ता मुलुक चेपुवामा परिरहेको भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन्। तर उनले नेपालले आफ्ना ठूला छिमेकीसँग आर्थिक साझेदारी मजबुत पारेर लाभ लिनसक्ने बताइन्। 

‘नेपाली नेतृत्वसँग आज भएका कुराकानीमा मैले मैले भनेँ– नेपालले आफ्ना छिमेकीसँग आर्थिक सहकार्य मजबुत पारोस्। तर नेपालले छिमेकीसँग सम्झौता गर्दा सार्वभौमिकताको ख्याल राखोस्। अनि उनीहरुसँग विभिन्न सम्झौता गर्दा नेपाललाई फाइदा होस्, कुनै भ्रष्टाचार नहोस्। छिमेकीसँग भएका सबै सम्झौता खुला र पारदर्शी होऊन्। जस्तो कि, हामीले नेपालसँग गरेको एमसीसी सम्झौताको सबै कुरा वेबसाइटमा भेट्न सकिन्छ। अनि, अमेरिकाले नेपालले छिमेकीसँग राखेको असल सम्बन्धको स्वागत गर्छ,’ उनले भनिन्। 

भारतसँग अमेरिकाको सम्बन्ध निकै राम्रो रहेको र चीनसँग पनि सम्बन्ध सुधारका लागि प्रयास जारी रहेको अमेरिकी उपविदेशमन्त्रीको भनाइ थियो। 

‘राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच नोभेम्बरमा वार्ता भयो। अबका हप्तामा अमेरिकाको चीनसँग थुप्रै बैठकहरु हुँदैछन्। चीनसँग हाम्रो सम्बन्ध सुधार हुँदैछ,’ उनले भनिन्। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन चीन भ्रमणमा आउने र लगत्तै चिनियाँ राष्ट्रपति सी अमेरिका भ्रमणमा जाने चर्चाका बीच उनले चीनसँग सम्बन्ध सुधार हुन लागेको बताएकी हुन्। चीनसँग सिधा भूमि जोडिएको नेपालमा आएर उनले त्यस्तो बताउनुमा विशेष भूराजनीतिक अर्थ लुकेको जानकारहरु बताउँछन्।

नेपाल भ्रमण सकेर नुल्यान्ड सोमबार बेलुकी भारत पुगेकी छिन्। उनले त्यहाँ विदेशसचिव विनयमोहन क्वात्रासहित उच्च अधिकारीसँग भेट्नेछिन्। भारतपछि उनी श्रीलंका पुग्नेछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .