राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले मौनता तोड्ने समय आएको बताएका छन्।
पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले फेरि गृहमन्त्रीमा फर्काउन तयार नभएपछि रविले बिहीबार सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेका हुन्।
गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री, रास्वपा संसदीय दलको नेतासहितको भूमिमा आफ्नो मौनता अब सकिएको बताएका हुन्।
कडा सन्देश दिने गरी उनले लेखेको स्टाटसमा आफूलाई अभिमन्यु नभएको बताएका छन्। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला', उनले भनेका छन्, 'मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
अमेरिकी नागरिकता लिएपछि पनि प्रयोग गरिरहेको नेपाली नागरिकतालाई १३ माघमा सर्वोच्च अदालतले अवैध ठहर गरेपछि रविले सांसददेखि सबै पद गुमाएका थिए।
सांसद पद खारेजीसँगै उनले आइतवार फेरि नेपाली नागरिकता लिएका थिए। १५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई तीन पटकसम्म आग्रह गरेका थिए।
तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, रविको दोहोरो राहदानी राखेर दुरुपयोग गरेको मुद्दाको अन्तिम किनारा नलागेकोले रविलाई कुनै हालतमा फेरि मन्त्रालयमा नल्याउन प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब छ।
गृहमा फर्काउन प्रधानमन्त्रीले नचाहेको संकेत पाएर रास्वपा सभापति रवि लामिछानेले १७ माघको साँझसम्म निर्णय नगरे सरकारबाट बाहिरिने अल्टिमेटम दिएर बालुवाटारबाट निस्किएका थिए। तर उनको अल्टिमेटमलाई प्रधानमन्त्रीले सुनेनन्। यस्तोमा रविले चेतावनीसहितको धारणा बाहिर ल्याएका हुन्।
रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घण्टा भइसकेको छ तर, अहिलेसम्म पनि सरकारबाट बाहिर निस्किएको छैन। यस्तोमा बिहीबार दिउँसो ३ बजे संसदीय दल र केन्द्रीय समितिको बैठक रास्वपाले राख्दैछ।
प्रतिक्रिया