ad ad

राजनीति


संसदले बिजनेस नपाएपछि प्रधानमन्त्रीसँग सांसदहरुको असन्तुष्टि

हिउँदे अधिवेशनबाट २० विधेयक पास गर्ने प्रतिवद्धता
संसदले बिजनेस नपाएपछि प्रधानमन्त्रीसँग सांसदहरुको असन्तुष्टि

सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ २३, २०७९ सोमबार १४:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। 

सोमवार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउनेबारे  छलफल गरेका हुन्। 

उनले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्नेबारे प्रमुख सचेतकहरुबाट सुझाव लिएका छन्। 

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रधानमन्त्री दाहालले संसदलाई दिने बिजनेस र विधेयकहरुबारे छलफल भएको बताएका छन्। 

उनले अहिले संसद प्रभावकारी नबनेको भन्दै भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए। उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए।

हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाएको उनले बताए। 

‘बिजनेस आएको छ की छैन, कसरी लैजाने? के लैजाने? यो सत्रमा कति वटा विधेयक लैजाने? बारे प्रधानमन्त्रीजीले छलफल गर्नुभयो। हामीले संसदलाई बिजनेस आएको छैन, संसद अहिले प्रभावकारी बनेको छैन, रमिता मात्रै भएको छ, भाषण मात्रै भएको छ। त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने माग राख्यौँ', उनले भने, 'नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ। पास गनुपर्छ भनेका छौँ। प्रधानमन्त्री गम्भीर बन्नुभएको छ। करिव डेढ
महिना यो सत्र चल्छ, यसमा १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिवद्धता उहाँले जनाउनु भयो।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउने लगायत अत्यावश्यक विधेयकबारे छलफल भएको बताए। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए। 

उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसदलाई कसरी सुचारु गर्ने भन्नेबारे छलफल गरेको बताए। उनले संसद सुचारु भए पनि प्राविधिक कुरामै अड्किएकाले अबका दिनमा संसदको बिजनेसबारे छलफल भएको
बताए। 

बैठकमा समितिहरु बन्न नसक्दा संसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने छलफल भएको पनि बताए। 

परियारले आगामी संसदका बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्वका विधेयकहरु सरकारले संसदमा प्रस्तुत गर्नेबारे पनि छलफल भएको बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढिरहेकोबारे दलका प्रमुख सचेतकहरुसँग सुझाव प्रधानमन्त्रीले सुझाव लिएको बताए। 

उनले सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्न आएका अफ्ठ्यारा र बाधा फुकाउने कुरामा छलफल भएको बताए।

‘संसदमा पेस गर्नुपर्ने विधेयकहरुका सन्दर्भमा प्रधानमन्त्रीजीले संसदमा रहेका दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नुभएको हो। संसदले बिजनेस पाइरहेको छैन। संसदमा विधेयकहरु अघि बढिरहेको छैन', उनले भने, 'सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन्? कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको छ।'

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसदमा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने कुराबारे पनि छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .