राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सञ्चारमाध्यका सम्पादक र मालिकहरुको आलोचना गर्दा सभापति रवि लामिछानेको प्रस्तुतिलाई गलत भनेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै पार्टी बैठकमा छलफल नै नगरी रविले आइतवार पत्रकार सम्मेलन गरेको पनि दाबी गरेका छन्।
'पार्टीको आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिक/अनौपचारिकरुपमा थाहै नदिइएको वक्तव्यको धारणा र परिणामबारे बोल्नै पर्ने बाध्यता स्वयम व्यक्ति बाहेक अरु कसैको हुँदैन', रविको पत्रकार सम्मेलनबारे उनी भन्छन्, 'त्यसमा अरुलाई बोल्न बाध्य बनाउनु न्यायसंगत हुन्न। र, कुनै प्रसंगलाई बेवास्ता गर्दैमा 'नाजवाफ' भएको भन्न नमिल्ला।'
कार्कीले नेपाली मिडियाहरुमाथि अधिकांश आममानिसले प्रश्न उठाइरहेको कुरा नकार्न नसकिने पनि बताएका छन्।
'ठूलो संख्याले रवि लामिछानेले बोलेका कुराहरु सही छन् भनिरहेका छन्। सञ्चारजगतप्रतिको यो अविश्वास कसरी हुन गयो भन्ने पनि खोजी गर्नुहोला', उनले सुझाएका छन्, 'अर्को ठूलो संख्याले सभापति रहेर त्यत्रो पार्टी हाँकिरहेको मानिसले शब्द चयन गर्न नजानेको हो भनिरहेका छन्। त्यो सुझावलाई पनि मनन् गर्नुपर्छ।'
कार्कीले गलत नसच्याइँ र सहीहरुले हातेमालो नगरि यो देश नबन्ने पनि तर्क गरेका छन्।
'गलत नसच्याइँ र सहीहरुले हातेमालो नगरि यो देश बन्नेवाला छैन', उनले भनेका छन्, 'हामीले बुझ्ने यति हो। बाँकी त तपाईंहरु सबै जान्ने हुनुहुन्छ।'
उनले भगवान गौतम बुद्धको प्रसंग जोड्दै रविमाथि र रविले पनि कसैलाई हिंसा गर्न नहुने तर्क गरेका छन्।
'आजभन्दा २५ सय वर्षअगाडि नै यही देशमा जन्मिएर बुद्धले अहिंसाका पाठ सिकाए। हिंसा रवि लामिछानेप्रति पनि हुनुहुन्न र रवि लामिछानेले अरुप्रति पनि गर्न हुन्न', उनले भनेका छन्, 'ती हिंसा थिए कि थिएनन्? आलोचना र आरोपहरु कति प्रामाणिक र कस्ता शब्दसज्जित हुनु हुँदैन? तपाईँहरु जान्ने हुनुहुन्छ, जान्नुहोस्।'
संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्ने उनले बताए।
'संविधानले दुवैको अधिकार छ भन्छ। स्वतन्त्रताले अर्काको अधिकारक्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाऊ भन्छ', कार्कीले थपेका छन्, 'कति आफ्नो अधिकार र कर्तव्य क्षेत्रमा पर्छ? तपाईँहरु जान्ने हुनुहुन्छ, जान्नुहोस्।'
प्रतिक्रिया