नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्थिरताको सबैभन्दा ठूलो कारक भएको आरोप लगाएका छन्।
लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा ओलीमाथि गम्भीर आरोप लगाएका हुन्।
‘जुन अहंकार उहाँसँग छ, त्यस्तो खालको अहंकार संस्कारमा रुपान्तरण भयो भने हामीले नेपालको लोकतन्त्रलाई विकसित गर्न सक्दैनौँ,’ पौडेलले भने, ‘यो नै नेपालको अस्थिरताको सबैभन्दा ठूलो कारक तत्व हो।’
अवसर पाएर पनि काम गर्न नसक्नेले गफ दिएर जतिसुकै काम गर्छु भने पनि नागरिकमा आशा छाउन नसक्ने उनको भनाइ थियो।
‘बारम्बार मौका पाएर पनि गर्न नसक्ने, अनि गफ मात्रै दिएर जतिसुकै काम गर्छु भने पनि नागरिकमा कुनै आशा छाउँदैन,’ पौडेलले भने, ‘हामीले चाहेको सुशासन हो, भ्रष्टाचारको अन्त्य हो।’
सुशासन र भ्रष्टाचार अन्त्यका लागि विधि बनाउन भने कोही पनि तयार नदेखिएका उनले जिकिर गरे। ‘त्यसका बारेमा छलफल नै गर्नु नपरे हुन्थ्यो भन्ने गरी मनोविज्ञान विकास भएको छ,’ पौडेलले भने।
उनले ओली प्रवृत्तिबाट अहिलेको व्यवस्था र देशलाई जोखिम रहेको पनि आरोप लगाए।
‘पूर्वप्रधानमन्त्री ओलीले फेरि पनि संसदमा धेरै ठूलो अहंकर देखाइरहनुभएको छ, उहाँले यो देशमा कामै गर्न नपाउनुभएको होइन। उहाँले साढे तीन वर्ष देश चलाउने मौका पाउनुभएको हो। तर, हामीलाई थाहै छ, यो अवधिमै अहिलेसम्मकै धेरै भ्रष्टाचार भयो,’ पौडेलले भने, ‘कुनै पनि आर्थिक अनियमितताका मुद्दामा छानबिन नै भएन। उहाँले कुनै छानबिन गर्नै चाहनुभएन। दुईतिहाइको शक्तिशाली सरकार, देशलाई केही पनि दिन नसकेर विवादै–विवादमा फसाएर बिदा भयो। त्यो सरकारलाई हामीले ढालेको होइन, उहाँको अहंकारले ढालेको हो।’
पौडेलले वैकल्पिक राजनीतिको वकालत गर्नेहरूमा पुरानै सत्तालिप्साको प्रवृत्ति देखिएको पनि बताए।
एउटा व्यक्तिलाई बलियो बनाउने र हुन चाहने प्रवृत्तिले लोकतन्त्र र अहिलेको व्यवस्थामाथि सधैं खतरा हुने उनको भनाइ थियो।
प्रतिक्रिया