राजनीति


सहसचिवलाई बरन्डामा राखेर उपसचिव खटाउने व्यवस्था हटाउन मन्त्री मोदीको निर्देशन

सहसचिवलाई बरन्डामा राखेर उपसचिव खटाउने व्यवस्था हटाउन मन्त्री मोदीको निर्देशन

नेपालखबर
माघ २८, २०७९ शनिबार १३:३, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासनभित्र सुधार गर्न सुरु गरेको छ। वरिष्ठ कर्मचारीलाई बरन्डामा थन्क्याउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासन भित्र विकृति देखिएको ठहर गर्दै मन्त्री अमनलाल मोदीले यस्तो अवस्थाको अन्त्य गर्न पहल गरेका हुन्। 

मन्त्री मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दी अनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मन्त्री मोदीको निर्देशन अनुसार सामान्य प्रशासन मन्त्रालयले आइतबार नै अन्य मन्त्रालयलाई पत्राचार गरेको छ। 

स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवहरुलाई शक्तिको आडामा काममा लगाउने पाइएपछि आइतबार सामान्य प्रशासन मन्त्रालयले ७ दिनभित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउने पत्राचार गरेको हो। 

सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले आइतबार पत्राचार गर्दै भनेका छन्, ‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाइएको पाइएको हुँदा यो परिपत्र जारी भएको मितिले ७ दिनभित्र स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउने, यदि स्वीकृत दरबन्दी भन्दामुनिको कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने र माथिल्लो तहको कर्मचारी आवश्यक नपर्ने हो भने दरबन्दी पुनर्संरचनाको प्रकृया अघि बढाई सो को जानकारी गराउने।’

सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको मन्त्रालयको ठहर छ। 

मन्त्री मोदीले निजामती सेवा ऐनको व्यवस्था अनुसार न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवसथा गर्न पनि निर्देशन दिएका छन्। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad