उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेपछि सभापति रवि लामिछाने आन्तरिक छलफल थालेका छन्।
उनी पार्टी कार्यालय बसुन्धारामा उपसभापति र महामन्त्रीसहितको छलफलमा जुटेका हुन्।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलगत्तै रास्वपाका नेताहरू छलफलमा जुटेका हुन्। बालुवाटार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।
बालुवाटार छलफलमा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। सोही आग्रहबारे छलफल गर्न पार्टी कार्यालयमा शीर्ष नेताहरू जुटेका हुन्।
सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। गृह मन्त्रालय नपाएपछि असन्तुष्ट हुँदै सरकार छाडेको रास्वपाले पुनः सरकारमा फर्कनसक्ने सम्भावना रहेको बताउँदै आएको छ।
सभापति लामिछाने पनि सरकार गठन हुँदाको सहमति कार्यान्वयन भए अझै सरकारमा फर्कनसक्ने मुडमा रहेको रास्वपाका एक नेता बताउँछन्।
‘सभापतिज्यूले पहिलाको सहमति (गृह मन्त्रालय) कार्यान्वयन भए फर्कनसक्ने संकेत गर्नुभएको छ’, ती नेताले भने, ‘यद्यपि यसबारे पार्टी बैठकमा छलफल हुँदैछ।’
गत माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेले सांसददेखि मन्त्री पदसमेत गुमाएका थिए। तर, नागरिकता र राहदानी विवाद कायमै रहेका बेला उनले गृहमै फर्किन खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका थिएनन्।
प्रधानमन्त्री रविलाई गृहमा ल्याउन तयार नभएपछि माघ २२ मा रास्वपाले अन्य तीन मन्त्रीलाई फिर्ता ल्याउँदै सरकार छाडेको थियो। यस्तोमा संयन्त्र संयोजक केपी शर्मा ओलीले रास्वपालाई सरकारमै फर्काउन जोड दिइरहेका छन्।
Shares

प्रतिक्रिया