राजनीति


रवि लामिछाने चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने

रवि लामिछाने चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने

नेपालखबर
माघ २९, २०७९ आइतबार १९:११, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै उम्मेदवार बन्ने भएका छन्।

नागरिकता प्रकरणका कारण सांसद पद गुमाएका लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘उहाँ हाम्रो लिडर हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’

यसबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।

आइतबार विहान उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा लामिछानेले उपनिर्वाचनबारे चासो राखेका थिए। 

संयन्त्रको बैठक लगत्तै पार्टीका उपसभापति, महामन्त्रीसँग लामिछानेले छलफल गरेका थिए। त्यसको केहीबेरपछि निर्वाचन आयोगको बैठकले उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको थियो। 

मंसिर ४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको मुख्य निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘चैत २० गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ,’ उनले थपे।

तर, रास्वपाकै एक नेताले राहदानी मुद्दामा केही समस्या पर्ने खतरा देखेका छन्।

१३ पुसमा सर्वाेच्च अदालतले नागरिकता प्रकरणका उनलाई दोषी देखाउँदै सांसद, उपप्रधान र गृह तथा पार्टी सभापति पद गुमाएका थिए। 

तर, १५ पुसमा पुन नागरिकता लिएपछि लामिछाने सोही दिन सभापति चयन भएका थिए। रोचक त, उनलाई सभापति चयन गर्नकै लागि रास्वपाको केन्द्रीय समिति बैठक तीन पटक बसेको थियो। 

नागरिकता पुन प्राप्ति गरेका सभापति लामिछानेले गैरसांसदकै रुपमा सरकारमा रहने खोजेपनि सफल भएका थिएनन्। 

सत्ता साझेदार दलका तर्फबाट उनी साझा उम्मेदवार बन्ने योजनामा छन्।

यदि राष्ट्रपति निर्वाचनमा सत्ता साझेदार दलबीच कुरा नमिले परिस्थिति फरक हुने देखिन्छ।

सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडान जारी राखेको छ। उता सत्ताको ठूलो दल नेकपा एमालेले आफ्नो भागमा परेको राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडानमै छ।

राष्ट्रपतिकै लागि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। यदि यही गठबन्धन कायम रहेमा रवि लामिछानेलाई उम्मेदवार बन्न सहज देखिन्छ।

अहिलेसम्म चितवनमा उनको पक्षमा माहोल राम्रो देखिन्छ। 

रास्वपाले प्रधानमन्त्रीको अधिनमा हुने महान्यायाधिवक्तातिर आँखा लगाइरहेको छ।

‘सरकारको नियत कस्तो छ भन्ने अब देखिन्छ, पासपोर्ट प्रकरणमा मुद्दा चलाउने/नचलाउने उहाँको भूमिका हुन्छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘नत्र समस्या पार्न खोजे जटिल बन्छ। राज्यले आफ्ना सबै निकायलाई कसरी चलाउँछ भन्ने हो। ’  

‘यदि अरु नियत भए सभापति रविजीलाई तलमाथि पार्नसक्ने खतरा पनि छ,’ उनले थपे।

त्यसो त घोषित मितिमा चुनाव हुनेमा पनि रास्वपाका नेताहरु शंका गर्छन्।

‘राजनीतिक घटनाक्रम, गठबन्धन परिवर्तन हुने वित्तिकै नेपालमा हरेक क्षेत्रमा त्यसको प्रभाव पर्छ,’ ती नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .