ad ad

राजनीति


‘संघीयता विस्मात होइन, अवसर हो तर प्रदेशलाई दाँतबिनाको बाघ बनाइयो’

‘संघीयता विस्मात होइन, अवसर हो तर प्रदेशलाई दाँतबिनाको बाघ बनाइयो’

नेपालखबर
फागुन ६, २०७९ शनिबार १८:३९, सुर्खेत

देशमा संघीयताको अभ्यास सुरु भएको झण्डै ६ वर्ष भइसकेको छ। सिंहदरबार केन्द्रित शासन व्यवस्थालाई गाउँस्तरसम्म पुर्याउने उदेश्यका साथ संविधानले परिकल्पना गरेको संघीयतापछि स्थानीय र प्रदेश तहका दुईवटा निर्वाचन सम्पन्न भइसकेका छन्।

दुवैपटक स्थानीय र प्रदेश सरकार पनि गठन भएका छन्। ती सरकारले आ–आफ्नै दायित्वअनुसार काम गरिरहेका छन्। संघीय सरकारले आफूलाई पूर्ण अधिकार दिएन, संघीयताको मुलमर्मलाई बुझेन भन्ने गुनासो प्रदेश र स्थानीय सरकारको छ।

सिंहदरबारमा सीमित शासन गाउँगाउँमा पठाए पनि अधिकार भने सिंहदरबारमै राखेको उनीहरुको गुनासो छ। संघीयता कार्यान्वयनका लागि अधिकार कहिले पाउने भन्ने प्रश्न पनि तल्लो तहका सरकारले संघीय सरकारसँग गरिरहेका छन्।

संघीयताको मर्मअनुसार ऐन नबन्नु, कार्यान्वयनको पाटो फितलो हुनु, अधिकार केन्द्रमै राख्नु जस्ता विषय जिवितै रहँदा के संघीयताको अनुभव जनताले गर्न पाए होलान त? यो विषयमा राजनीतिक दलहरुका कर्णाली प्रदेशको नेतृत्व गर्नेहरु के भन्छन्?

सुर्खेतमा जारी कर्णाली उत्सवको चौथो संस्करणअन्तर्गत ‘संघीयताका पाँच वर्षः कति विस्मात, कति हर्ष’ सत्रमा यही विषयमा दलका नेताहरुलाई उपस्थित गराएर बहस गरिएको छ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी संघीयतालाई विस्मात भन्न रुचाउन्नन्। उनी संघीयतालाई अवसरको रुपमा लिन्छिन्।

‘संघीयता विस्मात हुँदैहोइन, बरु कार्यान्वयनको सन्दर्भमा एकखालको चुनौती होला,’ उनी भन्छिन्, ‘संघीयता अवसर हो, आज सबै खालका समुदायले राज्यमा संलग्न हुन पाएका छन्। यो त संघीयताको उपलब्धि हो।’

स्थानीय स्तरमा घरआँगनमा सरकार सञ्चालन हुनु, जनताले सरकार नजिक भएको अनुभूति गर्न पाउनु, काठमाडौंमा मात्र केन्द्रित शक्ति विकेन्द्रीकृत हुनु जस्ता कुरा पनि केसीको बुझाइमा संघीयताका उपलब्धि हुन्। 

‘संघीयताको उपलब्धि आज मधेश, कर्णालीजस्ता पछि परेका क्षेत्रका जनताले महसुस गर्न पाएका छन्, काठमाडौं वरिपरिका जनताले आज घरदैलोमा सरकार भएको महसुस गरेका छन्,’ उनी भन्छिन्, ‘अहिले हरेक वडामा बाटो पुगेको छ, बाटो मात्र होइन विकासका सुरुआत भएका छन्। यदि केन्द्रमा मात्र सरकार हुन्थ्यो भने यो विकास हुने थिएन।’

संघीयताकै कारण जनताले पाउने नियमित सेवा नजिकबाट लिएको उनको दाबी छ।

यति कुरा भएर मात्रसंघीयता कार्यान्वयन भएको भन्न मिल्छ त? वा हर्षका रुपमा संघीयतालाई लिन मिल्छ त? संघीयतामाथि आएका यी प्रश्नमा भने उनले विधिलाई दोषी ठानेकी छन्।

उनको विचारमा अहिले योजना छनोट, बजेट विनियोजनको विधि वैज्ञानिक छैन, यसलाई सुधार्नु आवश्यक छ।

उनले संघीयताअनुसार संघीयता कार्यान्वयन गर्न चाहिने राज्यका संरचनालाई समायोजन गर्नुपर्ने बताइन्। 

‘अहिलेको संघीयताको आवश्यकताअनुसार कुनै कुराको पनि समायोजन हुन सकेको छैन, जस्तै हाम्रो प्रदेश सरकारले शान्ति सुरक्षामा काम गर्न खोज्यो भने हामीसँग प्रहरी छैन, यसको लागि संघले प्रहरी समायोजन गरिदिनुपर्छ,’ उनी भन्छिन्, ‘संघीय सरकारले बजेट त पठाइदिएको छ, तर बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न त कर्मचारी चाहियो नि। हामीसँग कर्मचारी आउनै नमान्ने, आए पनि नटिक्ने भएको छ।’

उनी यो विषयलाई जोडेर प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारले हात बाँधेर नदी–तलाउमा पौडी खेल्न पठाएको टिप्पणी गर्छिन्। संघीय सरकारले यी कुरामा तल्लो तहका सरकारलाई ‘दाँत नभएको बाघ’ जस्तो बनाएको अध्यक्ष केसी बताउँछिन्।

‘आजको मितिसम्म हामीले कुनै भवन बनाउन खोज्दा हामीसँग जग्गा छैन, यस्ता कुराले हामीले अघिल्ला पाँच बर्षमा पनि संघीयताको मर्मअनुसार अधिकार उपयोग गर्न पाएनौं र अहिलेका प्रदेश सरकारले पनि पाएका छैनन्,’ उनी भन्छिन्।

संविधानको मूल मर्मअनुसार नीति नबन्नु सत्तामा बसेका दलहरु संविधानले परिकल्पना गरेको संघीयताको विपरीत जान खोज्नुलाई उनले दोष दिइन्।

सत्रमा वक्ताका रुपमा सहभागी नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही अहिले संघीयता चाहिँदैन भन्ने नारा लागिरहनु गलत भएको बताउँछन्। 

‘मुलुक किन संघीयतामा जानुपर्यो भन्ने लामो बहस बन्न सक्ला, संविधान बनिसकेपछि मुलुक संघीयताको मर्मसँग गाँसियो र यसलाई हामीले संघीयताको ढाँचामा ढाल्यौं,’ उनले भने, ‘संघीयता सुरुमा त कर्णालीलाई नै चाहिएको थियो।’

उनी अहिले दलहरु कसलाई तानेर कसको नेतृत्वमा बनाउने भन्ने विषयमा केन्द्रित भएकाले संघीयता कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफलमा लाग्न नसकेको टिप्पणी गर्छन्।

संघीयता लागू भए पनि नागरिकले त्यसअनुसारको सेवासुविधा लिन नपाउनुमा कानुनको अभाव भएपनि यसलाई पूर्णता दिन त्यो ठाउँमा बसेको नेतृत्वले नचाहेको उनले बताए।

‘संघ मातहतका निकायले प्रदेशको कुरा नटेर्ने, प्रदेश मातहतका निकायलाई काम लगाउन कानुनहरु निर्माण भइसकेको छैन,’ उनले भने, ‘आफ्ना कानुन बनाउन स्थानीय र प्रदेश सरकारले संघीय कानुन कुर्नुपर्ने अवस्था छ, यसकारण अहिले जति संघीयतामा पाउनुपर्ने सेवासुविधा थिए, ती प्रभावकारी रुपमा जनताले पाउन नसकेको अवस्था छ।’

नेकपा एमालेका अध्यक्ष विनोदकुमार शाह संघले तल्लो तहका सरकारलाई अधिकार दिन लोभ मानेको टिप्पणी गर्छन्। जनताको प्रत्यक्ष सुविधाका लागि संघीय प्रणाली व्यवस्था गरे पनि यो प्रणालीको अवधारणा ल्याउने नेतृत्वले नै अधिकार दिन नखोजेको उनले बताए।

उनले कर्णालीको विकास र समृद्धिका लागि दक्षिणी सीमानामा जोड्नुपर्ने तर्क गरे। 

‘कर्णाली प्रदेश चीनसँग त जोडिएकै छ, अहिले बाँके र बर्दिया हामीसँग हुन्थ्यो भने दक्षिणतर्फको भारतसँग पनि जोडिन पाउँथ्यो, यसले केही समृद्धिका अवसर जुराउँथ्यो,’ शाहले भने, ‘अहिले बाँके र बर्दियाले पनि हामीसँग जोडिन खोजेकाले यसमा प्रयास गर्नु जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .