लुम्बिनीमा मन्त्रालयको कार्यविभाजनको विषयलाई लिएर विवाद साम्य नभएपछि केन्द्रीय तहका नेताहरू एकपछि अर्को छलफलमा जुटिरहेका छन्।
बिहीबार प्रदेशभित्रका केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो।
बैठकमा प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजन बारे छलफल भएको थियो। उक्त बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेता जोखबहादुर महराले छलफल बिना एकल निर्णयका आधारमा आफूखुसी मन्त्रीको कार्यविभाजन गरेको भन्दै चर्को विरोध भएको थियो।
शनिबार लुम्बिनी प्रदेश भित्रकै स्थायी कमिटी सदस्यहरुको बैठक बसेको छ। भालुवाङ बसेको बैठकमा पार्टी भित्रको असन्तुष्टीको विषयमा छलफल भएको हो।
माओवादी केन्द्रको स्थायी कमिटीमा लुम्बिनीबाट कृष्णबहादुर महरा, बर्षमान पुन, चक्रपाणी खनाल, ओनसरी घर्ति, दलका नेता जोखबहादुर महरा, रेखा शर्मा लगायत आधा दर्जनभन्दा बढी नेताहरु छन्।
बाँकेबाट प्रत्यक्ष निर्वाचित कृष्णा केसीलाई सहमतिबिना आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनाइएको भन्दै केसी र उनी पक्षका नेताहरु असन्तुष्ट छन्।
एक महिनाअघि विना विभागिय मन्त्री भएकी केसीले आन्तरिक मामिला मन्त्रालय पाएपनि कार्यभार सम्हाल्न गएकी छैनन्। माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समग्र सबै विषयमा छलफल भएको बताए।
‘अस्ति प्रदेशमा प्रदेश केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसलाई फाइनल गर्न स्थायी कमिटिको बैठक बसेको हो।’ उनले भने।
प्रतिक्रिया