ad ad

राजनीति


राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी दर्ता

राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी दर्ता

तस्बिर : सरोज नेपाल/नेपालखबर


केशव सावद
फागुन १३, २०७९ शनिबार १४:३७, काठमाडौँ

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ। 

निर्वाचन आयोगले फागुन २५ गतेका लागि निर्धारण गरेको निर्वाचनका लागि पौडेल र नेम्वाङले फरक–फरक समयमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। 

संवैधानिक व्यवस्थाअनुसार दुवै जनाले पाँच–पाँच जनता प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन्। 

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो.अब्दुल खान छन्।

 

यस्तै, समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहेका छन्। 

नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। 

यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।

वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुन्। पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए। 

नेम्वाङ २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हालेका थिए। 

कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। 

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अरु कुनै पनि दल खुलेका छैनन्।

यद्यपि, कांग्रेसको समर्थनमा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनलाई मत दिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .