राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत नपाएपछि पुनः निर्वाचन हुने भएको छ। सभापतिमा ६ जनाबिच मतदान भएको भएको थियो।
रास्वाको प्रथम प्रदेश अधिवेशन अन्तर्गत भएकाे निर्वाचनमा शालिकराम घिमिरेले सर्वाधिक मत ल्याए पनि ५१ प्रतिशत मत नपुगेपछि पुन: मतदानकाे तयारी भएको निर्वाचन समितिकी कल्पना पान्डे लम्सालले बताइन्।
दाङको घोराहीको सभागृहमा भएको मतदानमा ५४२ मत मात्रै खसेको खसेको थियो। शालिकरामले सबैभन्दा धेरै १९९ मत ल्याएका निर्वाचन समितिले जनाएको छ।
रास्वपा लुम्बिनीको अधिवेशनमा ८५४ प्रतिनिधि थिए। तर मतदान प्रक्रियामा भने ५४२ जना मात्रै सहभागी भएका हुन्।
शालिकरामका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले ८७ मत ल्याएका छन। यी दुई बीचकाे मतान्तर ११२ छ।
शालिकराम रास्वपा स्थापना कालदेखि नै पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुँदै उपसभापति भएका नेता हुन् भने गोपाल गत फागुन २१ को चुनावमा रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी थिए।
पहिलो चरणको निर्वाचनमा रुपन्देहीकी मञ्जु भुसालले ७१, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मधुप्रसाद अर्यालले १९ र रुपन्देहीकै गणेश पौडेलले ८४ मत प्राप्त गरेका छन्।
सभापतिमा विजयी हुन खसेको मतको ५१ प्रतिशत ल्याउनु पर्ने रास्वाकाे विधानमा व्यवस्था छ। कुनै पनि उम्मेद्वारले पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने २ उम्मेदवारबिच मात्रै प्रतिस्पर्धा हुन्छ।
अब दुई घिमिरेबिच आइतबार १० बजेबाट पुनः मतदान प्रकृया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ।
अधिवशेनमा रास्वपा बर्दिया जिल्ला समिति भने सहभागी भएको थिएन। बर्दियाको नवनिर्वाचित जिल्ला समितिको विषयमा बिबाद कायमै छ।
Shares

प्रतिक्रिया