अफ्ठेरो परेपछि संसद बैठक चैत ५ सम्मलाई स्थगित
संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा दाबी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए।
सरकारलाई विश्वासको मत दिए पनि आफू सरकारमा सहभागी नभएको भन्दै नेपाली कांग्रेस प्रतिपक्षी बेन्चमा
राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार एमालेले सरकार छोडेको थियो। उसले त्यससँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
यससँगै एमालेले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ। दुई दलको दाबीबीच तनाव हुने अवस्था आएपछि संसद सचिवालयले प्रतिनिधिसभाको बैठक नै तीन सातालाई स्थगित गरेको छ।
कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको हो।
कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन्।
यसबारे बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरु प्रमुख प्रतिपक्षी दल भएको बताए।
उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे। कांग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाइ छ।
एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसावले कांग्रेस अगाडि रहेको उनको तर्क छ।
‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो। प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ। यसमा कुनै आशंका, यसमा कुनै दुविधा हुनुपर्ने कुनै कुरा छैन', उनले भने, 'हामी सरकारमा नजाँदासम्म त्यो बेग्लै पाटो भो। तर सरकारमा नजाँदासम्म हामी प्रतिनिधि सभामा विपक्षी दल हो। देउवा विपक्षी दलको नेता हो।'
त्यस्तै एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए।
उनले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे। यद्यपि को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उनले बताए।
‘हामी त प्रतिपक्षमा छौँ भनेका छौँ। निर्धारण गर्ने काम सचिवालयको हो। सत्तापक्षमा हुनका लागि जोड गर्ने भन्दा पनि प्रमुख प्रतिपक्ष हुनका लागि जोड गर्ने जस्तो देखियो। कांग्रेसले प्रतिपक्ष नै हौँ भन्छ भने उसको कुरा रह्यो', उनले भने, 'हामी त औपचारिक रुपमा प्रतिपक्ष छदैछौँ। ऊ सत्तामा नरहेर प्रमुख प्रतिपक्ष वा प्रतिपक्ष नै हुन्छु भन्छ भने पनि उसको कुरा हो। यसमा निरुपण गर्ने काम सचिवालयको हो।'
उनले अहिले एमाले नै प्रतिपक्ष रहेको बताए। 'प्रमुख प्रतिपक्ष खासमा एमाले हो। औपचारिक रुपमा हामीले यो भनि नै सकेका छौँ। एमाले यो सन्दर्भमा दुविधामा छैन', उनले भने।
त्यसैगरी एमालेका केन्द्रीय सदस्य एवम् सांसद ठाकुर गैरेले एमाले संसदको प्रतिपक्षी बेन्चमा बस्ने बताए।
एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद र सडकबाट उठाउने उनले बताएका छन्।
‘आज यो सरकार बहुमतको पोजिसनमा छैन। यसको अर्थ यो अल्पमतको सरकार हो। नेकपा(एमाले) सरकारबाट बाहिरिएको छ। समर्थन फिर्ता लिएको छ। स्वतः नेकपा(एमाले)आजको प्रतिपक्ष दल हो', उनले भने, 'अर्को परिस्थिति निर्माण नभएसम्म एमालेले प्रतिपक्षको बेन्चमा बसेर संसदमा, सडकमा, जनताका आवाज उठाउने र देशलाई सु-व्यवस्थातर्फ लैजान, लोकतन्त्र बलियो बनाउन, राष्ट्रियतालाई बलियो बनाउन प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्छौं।'
उनले एमाले सरकारमा रहँदा पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै कांग्रेस सत्ताप र प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गरे। उनले कांग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिए।
Shares
प्रतिक्रिया