ad ad

राजनीति


पहिचानको आन्दोलन जारी रहन्छ : मन्त्री मोदी

पहिचानको आन्दोलन जारी रहन्छ : मन्त्री मोदी

नेपालखबर
फागुन २०, २०७९ शनिबार २१:४५, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन्। 

झापाको कन्काई नगरपालिका वडा नं ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले सो कुरा बताएका हुन्।

मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए। 

‘एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ’, मन्त्री मोदीले भने, ‘कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ।’

मन्त्री मोदीले १ नम्बर प्रदेशको नाम कोसी राखिसके पनि पहिचानसहितको नामका लागि संघर्ष जारी रहने बताए। 

‘१ नम्बर प्रदेशको नामकरण भइसकेको छ, हामी पहिचानसहितको नामकरणकै पक्षमा थियौँ, तर कांग्रेस र एमालेले कोसीबाहेकको नाम सुन्नै चाहेनन्’ उनले भने, ‘संघर्षको अध्याय सकिएको छैन, पहिचानसहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छ।’

मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, ‘पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाईते अपाङ्ग र टुहुरा भएका हुन्। त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ।’
त्यस्तै झापाको बिर्तामोडमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले सहिद सप्ताहको अवसरमा आयोजना गरेको सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले पहिचानको आन्दोलनको स्वरुपलाई थप परिस्कृत गर्दै संघर्षमा जानुपर्ने समेत बताए। 

‘नामकरणको सन्दर्भमा जे भए पनि पहिचानमा आधारित हुनुपर्ने थियो, तर त्यस्तो हुन सकेन’ उनले भने, ‘अब सकारात्मक तरिकाबाट संघर्षमा जानुपर्छ। संघर्ष नगरेसम्म श्रेष्ठता हासिल गर्न सक्दैन।’ 

उत्पीडित जाति र समुदायले आफ्नो संस्कार, संस्कृति र भाषाको जगेर्नामा विशेष ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .