राजनीति


‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

नेपालखबर
फागुन २७, २०७९ शनिबार १६:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्। 

द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो बताएका हुन्। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले समाजवादी केन्द्रकै जगमा कम्युनिस्ट एकताको पहल गरिने पनि बताएका छन्। 

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए।

'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।'

उनले एकताका लागि माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको बताए। 

'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ', उनले भने,'भोलि संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।' 

उनले संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त रहेका बताए। 

'चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ', उनले भने, 'नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।'

दाहालले समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad