प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग अझै पनि एकताको सम्भावना रहेको बताएका छन्।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले एमालेभित्रको ठूलो पंक्ति अहिले पनि वामपन्थीहरुको एकताकै पक्षमा रहेको उल्लेख गरेका छन्।
'एमालेभित्रको ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ', उनले भने, 'त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।'
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनैले एकता नचाहेको पनि टिप्पणी गरेका छन्।
'एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ। नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्', उनले भने, 'त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो। माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ।'
दाहालले नेता–कार्यकर्ता जनतामाझ गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने पनि बताए। उनले र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने उल्लेख गरे।
बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए।
'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।'
Shares

प्रतिक्रिया