बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ।
सभामुख चयन गर्न बसेको सचिवालय बैठक सहमति नभएपछि आजका लागि स्थगित गरिएको हो। बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्नेछ।
बैठकमा राष्ट्रिय सभाका उम्मेदवार छनौट बारे छलफल भएपनि नटुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सभामुख चयनको विषयमा भने श्रेष्ठले केही बताउन चाहेनन्। उनले भने, ‘आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो। छलफल जारी छ। त्यसबाहेक अन्य एजेण्डा थिएन।’
आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि यही पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। नेकपाले प्रदेश २ मा राजपासँग २ २ सिटमा तालमेल गर्ने निर्णय गरेको छ।
नेकपाभित्र सभामुखकाे विषयमा सहमति जुट्न नसक्दा संसद बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएकाे छ।तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा सुवास नेम्वाङ र अग्नी सापकोटामध्ये कसलाई पठाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छैन।
आजको सचिवालय बैठकले त्यसबारेमा निर्णय गर्न बताइएको थियाे। आजै बिहान चितवनको रत्ननगरकमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकबाट सभामुखबारे निर्णय गर्ने बताएका थिए।
यता, वरिष्ठ नेता झलनाथ खनालले पनि नेपालखबरसँग कुरा गर्दै आजको सचिवालय बैठकले सभामुखको टुंगो लगाउने बताएका थिए।

प्रतिक्रिया