राष्ट्रियसभा सांसदका लागि सिफारिश गर्ने सूची एकलौटीरुपमा तयार गरि बैठकमा प्रस्तुत गरिएको भन्दै केही नेताहरुले आपत्ति जनाएपछि नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ।
बैठकमा प्रस्तुत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको सूची एकलौटीरुपमा तयार गरिएको भन्दै माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरुले आपत्ती जनाएका सचिवालयका एक सदस्यले बताए। त्यो तनावका बीच बिहीबार सचिवालय बैठकमा कुनै सहमति हुन सकेन।
सो सूची प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी तयार गरेका हुन् वा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी मिलेर दुईजनाले ल्याएका हुन भन्ने ती नेताले प्रष्ट गरेनन्। तर उनको यो भनाइले सूची दुईजना अध्यक्षले प्रस्तुत गरेको बुझिन्छ।
‘उहाँहरुले राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवारको सूची एकलौटी रुपमा ल्याउनुभयो, त्यसैले सहमति भएन’, सचिवालयका ती सदस्यले भने, ‘सूची एकलौटी ल्याइएपछि विरोध भयो, टुंगिएन। भोली फेरि बैठक बस्छ।’
सचिवालयकै अर्का एक सदस्यले ‘सबै नेताहरूका आआफ्नै सूची रहेको र सबैलाई मिलाएर टुंग्याउनुपर्ने’ बताए।
बैठक शुक्रबार बिहान साढे ८ बजे पुनः बस्नेछ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। नेकपाले प्रदेश २ मा राजपासँग २–२ सिटमा तालमेल गर्ने निर्णय गरेको छ।
बिहीबारको बैठकले सभामुखका लागि उम्मेदवार तय गर्ने अपेक्षा गरिएको थियो। तर त्यसबारे छलफल भएपनि नटुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो, छलफल जारी छ’, श्रेष्ठले भने, ‘त्यसबाहेक अन्य एजेण्डामा कुरा भएन।’
नेकपाभित्र सभामुखको विषयमा सहमति जुट्न नसक्दा संसद बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ। तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा सुवास नेम्वाङ र अग्नी सापकोटामध्ये कसलाई पठाउने भन्ने विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छैन।
आजै बिहान चितवनको रत्ननगरकमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकबाट सभामुखबारे निर्णय गर्ने बताएका थिए।
यता, वरिष्ठ नेता झलनाथ खनालले पनि नेपालखबरसँग कुरा गर्दै आजको सचिवालय बैठकले सभामुखको टुंगो लगाउने बताएका थिए।

प्रतिक्रिया