ad ad

राजनीति


‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

नेपालखबर
चैत ८, २०७९ बुधबार १४:५९, काठमाडौँ

राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछुत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई सो अभियान वर्षको रुपमा घोषणा गर्नुपर्ने स्पष्ट पारिन्।

सांसद साहले संविधानले दलितसहितका पछि पारेका समुदायको हक अधिकार सुनिश्चित गराउनका लागि गरेको व्यवस्था अनुसार कानुन निर्माण गर्ने काम गर्न पनि सरकारलाई सचेत गराइन्।

उनले संवैधानिक व्यवस्था अनुसार कानुन बनाउने र समाजमा पछि परेका समूदायहरुको हक अधिकार सुनिश्चित गर्ने कुरामा संघीय संसदले सरकारलाई सचेत गराईरहनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

सांसद साहले भनिन्, ‘दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि २०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष घोषणा गरियोस् भनेर सरकारसँग माग गर्दछु। संविधानले निर्देश गरे अनुसार कानुन निर्माणको काम गरिसक्न पनि सरकारलाई सचेत गराउन चाहन्छु।’

पछाडि परेका/पारिएका दलितहरुको उत्थानका लागि सरकारले विशेष ध्यान दिनुपर्ने अर्का सांसद खिमलाल देवकोटाले बताए। उनले नेपालको संविधानले सबैभन्दा धेरै अधिकार पछि परेका समुदायलाई दिएपनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

सांसद देवकोटाले भने, ‘दलितहरु पछि परेका छन्। उनीहरुलाई अघि बढाउन राज्यले ध्यान दिनुपर्छ। यसमा कुनै विवाद छैन। तर हामीले नीति बनाउँदा जातजाति, भाषाभाषी भन्दा पनि गरिवी र विपन्नतालाई बढि प्राथमिकता दिनुपर्ने हुन्छ।’

सांसद कमला पन्तले दलित भित्रै हुने विभेदको अन्त्य गर्नुपर्ने बताइन्। उनले दलित आयोगले समेत दलितका बारेमा काम गर्न सके/नसकेको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराइन्। गरिबीका कारण दलितहरु पछि परेको उल्लेख गर्दै उनीहरुको आर्थिक सशक्तिकरणको कामलाई प्राथमिकता दिन पनि सरकारलाई उनको सुझाव थियो। 

सांसद पन्तले संविधानले दलितहरुको अधिकार सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .