राजनीति


युद्ध रोक्न इरानी सैन्य कमान्डर सुलेमानीको हत्या गरेका हौंः ट्रम्प

युद्ध रोक्न इरानी सैन्य कमान्डर सुलेमानीको हत्या गरेका हौंः ट्रम्प

नेपालखबर
पुस १९, २०७६ शनिबार ६:१६,

ट्रम्पले अमेरिकाले ‘युद्ध सुरु गर्न नभएर युद्ध रोक्न’ सुलेमानीमाथि आक्रमण गरेको बताएका हुन्।

यसैहप्ता इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि अमेरिकाले इरानले उक्त आक्रमण गराएको आरोप लगाएको थियो।

अमेरिकी दूतावासमा आक्रमण भएको केही दिनमै अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका मेजर जनरल सुलेमानीको गाडीलाई इराकको बगदाद इन्टरनेसनल एयरपोर्टनजिकै रकेट प्रहार गरि हत्या गरेको हो।

ट्रम्पले शुक्रवारको आक्रमणबारे भनेका छन्,‘अमेरिकी सेनाले यस्तो चुस्त र निशानालक्षित आक्रमण गर्‍यो जसले संसारकै एक नम्बरको आतङ्कवादी कासिम सुलेमानी मारिदियो।’

उनले भने,‘सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रूर आक्रमण गर्दै थिए। हामीले उनलाई बीचैमा थाहा पायौँ र सिध्याइदियौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि सुलेमानीको आतङ्कको शासन समाप्त भएको प्रतिक्रिया जनाएका छन्।

इरानले भने सुलेमानीको मृत्युका लागि जिम्मेवारहरूसँग कडा बदला लिने बताएको छ। अमेरिका र इरान युरेनियमको विषयलाई लिएर तनावमै थिए। यस हत्याले इरान र अमेरिकाबीच चुलिएको तनाव झनै उत्कर्षमा पुगेको छ।

इरानी आक्रमणको खतरालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले सावधानी अपनाउन मध्यपूर्वमा थप ३००० सैन्य दस्ता पठाइने बताएका छन्।

इरानको प्रतिक्रिया

सुलेमानीको मृत्युपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले विज्ञप्ति जारी गर्दै भने,‘ईश्वरकहाँ उनको गमनले उनको यात्रा या लक्ष्य रोकिँदैन, तर उनी र अरू शहीदहरूको रक्तरञ्जित हात भएका अपराधीहरूमाथि अब कडा बदला लिइनेछ।’

अमेरिकी सुरक्षा परिषद्‍लाई पत्र पठाउँदै इरानी राजदूत मजिद तख्त रभान्चीले भने,‘अन्तर्राष्ट्रिय कानुन बमोजिम तेहरानसँग आत्मरक्षाको अधिकार निहित छ।’

Qasem Soleimani

सुलेमानी

इराक कसरी बीचमा

इरानले छिमेकी इराकमा रहेका विभिन्न समूहका शिया मिलिशिया समूहलाई समर्थन गर्छ।

सुलेमानी बगदादस्थित विमानस्थल आइपुगेका थिए र शिया मिलिशिया अधिकारीसँगसँगै एउटा दस्तासहित यात्रा गर्दै थिए जसमाथि शुक्रवार अमेरिकी क्षेप्यास्त्र आक्रमण भएको थियो।

इराकी मिलिशिया नेता अबु महदी अल मुहन्दीस पनि आक्रमणमा मारिएका थिए।

उनी कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे। उक्त समूहलाई इरानले समर्थन गर्छ। उक्त समूहमाथि उत्तरी इराकमा गत हप्ता एकजना अमेरिकी ठेकेदारको मृत्यु हुनेगरी रकेट आक्रमण गरेको आरोप वाशिङटनले लगाएको थियो।

इराक अमेरिका र इरान दुवैका समर्थक भएकाले कठिन स्थितिमा परेको छ।

हजारौँ अमेरिकी दस्ता इस्लामिक स्टेट समूहविरुद्धको लडाइँका लागि इराकमा रहेका छन्।

यद्यपि इराकी सरकारले उक्त सम्झौता उल्लङ्घन हुनेगरी अमेरिकाले कारबाही गरको दोहोर्‍याएको छ। प्रधानमन्त्री अदेल अब्दुल महदीले क्षेप्यास्त्र आक्रमणलाई ूइराक‍को सार्वभौमसत्ताको उल्लङ्घन र राष्ट्रको मर्यादामाथि आक्रमणू भनेका छन्।

इराकको संसद्‌ले आइतवार आपत्‌कालीन बैठक डाकेको छ। अमेरिकी विदेश मन्त्रालयले इराकमा रहेका अमेरिकीहरूलाई तत्कालु इराक छोड्न चेतावनी दिएको छ।

कासिम सुलेमानी को थिए?

६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे।

इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad