अघिल्लो मंसिर (२०७८) सम्मपनि राप्रपाका तत्कालीन अध्यक्ष कमल थापामा राजतन्त्र र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुनै विरक्तिभाव थिएन। २०६३ मा लोकतन्त्र स्थापनापछिको गणतन्त्रको लहरसँगै राजतन्त्रका लागि प्रतिकूल स्थितिमा समेत थापाले पूर्वराजा शाह र राजतन्त्रलाई काँध थापी हिँडिरहे।
निर्मल निवासको सहयोगमा राजेन्द्र लिङ्देनले २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा जब थापालाई अध्यक्षमा पराजित गरे, त्यसपछि थापा र पूर्वराजाबीचको राजनीतिक सम्बन्ध टुट्यो। आफूविरुद्ध निर्मल निवासबाटै षडयन्त्र भएको आरोप लगाउँदै थापाले १५ वर्षदेखि उठाउँदै आएको राजतन्त्र पुनर्स्थापनाको एजेन्डा परित्याग गरे।
तिनै थापालाई पराजित गरी गत साल राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनको साथ पूर्वराजा र निर्मल निवासले कहिलेसम्म पाउलान् भन्ने अनुमान सो पार्टीभित्र हुन थालेको छ।
पूर्वराजा शाहसँगको भेटका लागि गत बिहीबार (८ चैत्र) अध्यक्ष लिङ्देन जस्तो पोसाकमा दमकस्थित हिमालय टि स्टेट गार्डेनमा उपस्थित भए, त्यही कारण पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीचको सहकार्य लामो समय रहँदैन भन्ने चर्चा राप्रपाभित्र चल्न थालेको हो।
दौरा–सुरुवालबिनाका लिङ्देन
विसं २०३७–०३८ ताका नारायणहिटी राजदरबारमा आयोजित एउटा भोजमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस नेता बीपी कोइराला निम्त्याइएका थिए। निमन्त्रणा स्वीकार गर्दै बीपी नारायणहिटी पुगे। तर, उनलाई कार्यक्रममा सहभागी हुन दिनुको साटो फिर्ता पठाइयो। राष्ट्रिय पोसाक (दौरा–सुरुवाल र टोपीबिना) उपस्थित भएको भन्दै अपमानजनक रुपमा बीपीलाई फिर्ता पठाइएको थियो।
अर्थात्, दरबारमा हुने कार्यक्रममा नेपालीहरुको सहभागिताका लागि दौरा–सुरुवाल अनिवार्यजस्तै थियो। यही कारण राजावादीहरु पूर्वराजा शाहसँगको भेटमा अक्सर आजकल पनि दौरा–सुरुवाल लगाएर सहभागी हुने गर्छन्। झापाको दमकमा रहेको पूर्वराजा शाहको हिमालय टि स्टेट गार्डेनभित्रको निवासमा भएको बिहीबारको भेटमा पनि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री डा. धवलशमशेर राणा र उपाध्यक्ष रवीन्द्र मिश्र दौरा–सुरुवालमा उपस्थित थिए।
पूर्वराजासँगको त्यो सामूहिक भेटमा अध्यक्ष लिङ्देन भने दौरा–सुरुवालमा थिएनन्। जबकि उनको गृहजिल्ला झापा नै हो। र, त्यहाँ रहेको निजी स्वामित्वको हिमालय टि स्टेट गार्डेनमा बसोबासका लागि पूर्वराजा शाह प्रत्येक हिउँदमा झर्ने गर्छन्। र, गर्मी लागेपछि काठमाडौँ फर्कन्छन्।
एकातिर पूर्वराजा शाह काठमाडौँपछि सबैभन्दा बढी समय बिताउने स्थान, अर्काेतिर आफ्नै गृहजिल्ला– यस्तोमा तत्काल उपलब्ध नभएकाले लिङ्देनले पूर्वराजा शाहसँगको भेटका बेला दौरा–सुरुवाल नलगाएका होलान् भन्ने पत्याउन राप्रपाका कुनै पनि नेता तयार छैनन्।
स्रोतका भनाइमा- पूर्वराजासँग बिहीबार भएको भेट पूर्वनिर्धारित थियो। पूर्वनिर्धारित भएकैले वरिष्ठ नेता डा. लोहनी, महामन्त्री डा. राणा र उपाध्यक्ष मिश्र राजासँगको भेटघाटमा लगाउने दौरा–सुरुवाल सुटकेसमा हालेर अघिल्लो दिन (७ चैत) नै झापा पुगिसकेका थिए। पूर्वनिर्धारित भेटघाटका लागि लिङ्देनपनि ६ चैत्रमा झापा पुगिसकेका थिए।
‘आकस्मिक भेट हुँदो हो त काठमाडौँमा रहेका डा. लोहनी, डा. राणा र मिश्र तीनैजना नेता दौरा-सुरुवालमा झापा पुग्ने थिएनन्’, राप्रपाका एक केन्द्रीय नेताले भने, ‘तर, अध्यक्ष लिङ्देन दौरा–सुरुवालबिना हिमालय टि स्टेट गार्डेन गए। बिनादौरा–सुरुवाल पूर्वराजाको निवास पुगेर अध्यक्ष लिङ्देनले अब पूर्वराजालाई पहिलेजस्तो महत्त्व दिनु आवश्यक छैन भन्ने सन्देश दिन खोजेका छन्।’
पूर्वराजा शाह र अध्यक्ष लिङ्देनसहित राप्रपा नेताहरुको भेट त्यसैदिन उपाध्यक्ष मिश्रले ट्विटरमार्फत ‘बीचमा देशको मियो, छेउछाउमा हामी’ भन्दै तस्बिर पोस्ट गरेपछि सार्वजनिक भएको थियो। तस्बिरमा डा. लोहनी, डा. राणा र मिश्र प्रसन्न मुद्रामा देखिन्छन्। पूर्वराजा शाह र अध्यक्ष लिङ्देनको मुहार भने त्यति प्रसन्न देखिँदैन।
आफ्नै गृहजिल्लामा हुँदा समेत अध्यक्ष लिङ्देनजस्तो पोसाकसहित पूर्वराजालाई भेट्न पुगे, त्यसलाई राप्रपाभित्र अन्यथा लिइने थिएन– यदि पूर्वराजा शाह र लिङ्देनबीचको सम्बन्ध पछिल्लो समयपनि पूर्ववत् भइदिएको भए! राजनीतिक विषयवस्तुमा पछिल्लो समय शाह–लिङ्देनबीच जसरी मतान्तर बढ्दै छ, त्यसले गर्दा राप्रपामा अध्यक्ष लिङ्देनको नियति पनि पूर्व अध्यक्ष थापाको जस्तै हुने अनुमान केही नेता–कार्यकर्ताहरुले गर्न थालिसकेका छन्।
यो हो असन्तुष्टिको मूल कारण
लिङ्देनलाई राप्रपा अध्यक्ष बनाउन निर्मल निवासको धेरथोर हात रहे पनि पछिल्लो समय पूर्वराजासँग उनको मतान्तर देखिएको संकेत त्यतिबेला मिल्यो, जब माओवादी, एमाले हुँदै पछिल्लो समय हिन्दूवादी–राजावादी देखिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १ फागुनमा सुरु हुने गरी झापाको मेचीपुलबाट ‘राष्ट्रवादी महाअभियान’ सुरु हुने घोषणा गरे।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउने’ भन्दै पूर्वराजा शाहको प्रमुख आतिथ्यतामा उनले सो महाअभियान सुरुवातको घोषणा गरेका थिए। पूर्वराजालाई अघि सारेर प्रसाईंले राप्रपाले बोक्दै आएको एजेन्डा अघि बढाउने घोषणा गरेपछि २६ माघमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले त्यो अभियानको उछितो काढ्दै ‘पानीको फोका साबित हुने’ टिप्पणी गरे।
‘हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि हुने हरेक आन्दोलन र सकारात्मक गतिविधिहरुमा यो एजेन्डाको प्रमुख संवाहक शक्ति राप्रपाको समर्थन रहन्छ’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘तर यो एजेन्डा गिजोल्ने, यसका पक्षधर शक्तिलाई तितरबितर पार्ने, संगठित शक्ति क्षयीकरण गराउने र समग्रमा राप्रपालाई कमजोर तुल्याउने लक्ष्यसहितका हर्कतहरुलाई विगतमा पनि समर्थन गरिएन, अहिले पनि गर्दैनौँ।’
खासमा जनयुद्धमार्फत गणतन्त्र स्थापनामा प्रमुख भूमिका खेलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष लिङ्देन आफैँ उपप्रधानमन्त्रीका रुपमा सहभागी भएपछि निर्मल निवास असन्तुष्ट थियो। राजतन्त्र पुनर्स्थानाको एजेन्डाका साथ जनताको मत पाउने, राप्रपाका पूर्वअध्यक्ष कमल थापालेजस्तै अवसर पाएपछि ‘गणतन्त्रवादी सरकार’ लाई साथ दिने र सहभागी हुने गरेको भन्दै निर्मल निवास असन्तुष्ट भएको हो।
त्यही कारण निर्मल निवासले विवेकशील साझा पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रलाई बढी महत्त्व दिन थालेको छ। लिङ्देनसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि मिश्रलाई पूर्वराजाले २१ पुसमा भेट दिएका थिए। शाह–मिश्रबीच डेढ घण्टा कुराकानी भएको थियो।
पछिल्लो समय मिश्रले राजतन्त्र पुनर्स्थापनाको चर्काे रुपमा वकालत गर्दै आएका छन्। लिङ्देनको जोड भने राजतन्त्रभन्दा हिन्दू धर्म संस्कृतिको बचाउमा देखिन्छ।
उपाध्यक्ष मिश्र, महामन्त्री डा. राणा सहितका नेताहरु प्रचण्ड नेतृत्वको सरकारमा जान नहुने पक्षमा थिए। विवादकै कारण यस विषयमा बसेको पहिलो बैठक अनिर्णित रह्यो। थप परामर्शका लागि महामन्त्री डा. राणाले लिङ्देनलाई निर्मल निवास लिएर गए। पूर्वराजाले पनि सरकारमा नजाँदा राम्रो हुने सुझाव दिए। तर, लिङ्देनले ‘सरकारलाई राप्रपाले समर्थन गरेको’ बताउँदै ‘आफू सरकारमा सहभागी हुने’ जानकारी समेत दिए।
जसका कारण राजतन्त्रको अन्त्य भयो, तिनै व्यक्तिको नेतृत्वमा ‘राजतन्त्रवादी’ राप्रपा सहभागी हुने लिङ्देनको जवाफपछि पूर्वराजा शाह लिङ्देनसँग असन्तुष्ट बनेको स्रोतको दाबी छ। स्रोतका भनाइमा, आफूले लिएर गएका लिङ्देनले पूर्वराजालाई ठाडो जवाफ दिएको भन्दै महामन्त्री राणापनि त्यति सन्तुष्ट छैनन्। त्यसपछि नै लिङ्देनलाई चुनौती दिने गरी उनकै गृहजिल्लाबाट प्रसाईंले सुरु गरेको कार्यक्रममा पूर्वराजा शाह सरिक भएको राप्रपा नेताहरुको बुझाइ छ।
एकातिर राप्रपाले राजतन्त्र पुनस्र्थापना भन्दा सत्तालाई प्राथमिकता दिएकोमा पूर्वराजा शाह अध्यक्ष लिङ्देनसँग असन्तुष्ट छन्। अर्काेतिर लिङ्देन पनि उपाध्यक्ष मिश्रलाई महत्त्व दिएर आफ्नो विकल्पमा अघि सार्न खोजेकोमा पूर्वराजासँग सन्तुष्ट छैनन्।
‘आफ्नो असन्तुष्टि लिङ्देनले दौरा–सुरुवालबिना पूर्वराजासँगको सामूहिक भेटमा उपस्थित भएर जनाइसकेका छन्’, राप्रपाका ती नेताले भने, ‘अब राजतन्त्र र अध्यक्ष लिङ्देनबीचको सम्बन्ध यस्तो व्यवहारप्रति पूर्वराजाले जनाउने प्रतिक्रियाले निर्धारण गर्छ।’
प्रतिक्रिया