राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।
सोमबार जनमोर्चाले रुपन्देही, प्युठानसहितका जिल्लामा विरोध प्रदर्शन गरेको हो।
रुपन्देहीको बुटवलमा जनमोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा ‘संघीयता खारेज गर, बढ्दो मंहगी नियन्त्रण गर, राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरोँ, मिटरब्याजीलाई कारबाही गर’ जस्ता चर्का नारा लगाइएको थियो।
नयाँ बसपार्कबाट सुरु भएको जुलुस व्यापारी केन्द्र अमरपथमा पुगेर सभामा परिणत भएको थियो।
विरोध कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष बद्रे आलमले राष्ट्रिय जनमोर्चाले उठाउँदै आएको संघीयता विरुद्धको मागमा नेपाली जनताको व्यापक साथ रहेको बताए।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरि प्रसाद बुढा र राजमो केन्द्रीय सदस्य राम कुमार क्षेत्रीले पनि सम्बोधन गरेका थिए।
राष्ट्रिय जनमोर्चाले प्युठानमा पनि संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। जनमोर्चाले संघीयताको खारेजी, एमसीसी, महंगी भ्रष्टाचार, मिटरब्याजको समस्या लगायत विषयलाई लिएर जुलुससहित विरोधसभा गरेको जनाएको छ।
विरोधसभामा राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, राजमो नेताहरू पद्मा पण्डित, नारायण जिसी, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अम्मर ध्वज राणा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरिता जिसी र नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गरेका थिए।
संघीयता खारेजीका लागि आवाज उठाउँदै आएको जनमोर्चाले चैत १० देखि १५ गते देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको जनाएको छ।
प्रतिक्रिया