ad ad

राजनीति


मन्त्री बन्दै नबनी ती चार नेताको बाटो पछ्याइरहेका कोइराला दाजुभाइ

मन्त्री बन्दै नबनी ती चार नेताको बाटो पछ्याइरहेका कोइराला दाजुभाइ

कांग्रेसका नेताहरू डा. शेखर कोइराला र शशांक कोइराला पटक पटक सांसद भएपनि मन्त्री बन्ने तर्खरमा छैनन्


सीताराम बराल
चैत १८, २०७९ शनिबार ९:३८, काठमाडौँ

पहिलो संविधान सभाकालमा नेपाली कांग्रेस माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भयो। दोस्रो संविधान सभामा त उसले सभापति सुशील कोइराला नेतृत्वमा सरकार नै बनायो।

वामगठबन्धनका कारण २०७४ को निर्वाचनमा पराजित भएपनि २०७७ मा नेकपामा विभाजनपछि सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न कांग्रेस सफल भयो।

२०७४ को निर्वाचन बाहेक २०६५ यताका सबै संसदमा कांग्रेस नेता डा. शेखर कोइराला निर्वाचित हुँदै आएका छन्। पहिलो संविधान सभा निर्वाचनमा पराजित भएपनि विजय गच्छेदारले छाडेपछि खालि रहेको मोरङ–७ बाट विजयी उनले २०७० को दोस्रो संविधान सभामा पनि त्यही निर्वाचन क्षेत्रबाट बाजी मारे।

यसपटक मोरङ–६ बाट उनले प्रतिनिधित्व गरेका छन्।

संविधान सभा र प्रतिनिधि सभा गरी तीन–तीन पटक संसदमा पुगेपनि डा. कोइरालाले मन्त्री बन्ने अवसर भने पाएका छैनन्। २०६४ यताका चारवटै निर्वाचनमा अपराजित कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइरालाको नामपनि अहिलेसम्म ‘नेपालका मन्त्रीहरु’ को सूचीमा पर्न सकेको छैन।

बिसं २००७ को क्रान्तियता अहिलेसम्म नेपाली कांग्रेसका ६ जना नेताले प्रधानमन्त्री बन्ने अवसर पाए। तीमध्ये मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला यस्ता नेता हुन्, जसले मन्त्री नबनी एकैचोटि प्रधानमन्त्री बन्ने अवसर पाए। बीपी कोइराला र शेरबहादुर देउवा भने गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री बनेका थिए।

कतै डा. शेखर र डा. शशांकपनि मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको इतिहास दोहोर्याउन त खोजिरहेका छैनन्? कोइरालाद्वयबारे मानिसहरुमा यस्तो चासो थप बृद्धि किन हुन पुगेको छ भने, यसपटक मन्त्रीमण्डलमा जानका लागि कांग्रेसमा हानथाप चलिरहँदा त्यसमा दुबै नेता सहभागी भएनन्।

शेखर–शशांक भन्दा अगाडि सुजाता
कोइराला परिवारकै बरिष्ठ नेतृ सुजाता कोइराला भने माधव नेपाल नेतृत्वको कांग्रेस–एमाले सरकार (२०६६–६७) मा परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनिसकेकी छन्।

कांग्रेसको सक्रिय राजनीतिमा शेखर र शशांक भन्दा सुजाता पहिले प्रवेश गरेकी हुन्। तर, उनले उपप्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुको कारण यत्तिमात्र होइन। उनी उपप्रधानमन्त्री बन्नुमा पिता गिरिजाप्रसाद कोइरालाको भूमिका थियो। प्रधानसेनापति प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा दिएपछि आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न प्रधानमन्त्री माधव नेपालले सुजातालाई उपप्रधानमन्त्री बनाएका थिए। जबकि सुजाता २०६४ को संविधान सभा निर्वाचनमा पराजित भएकी थिइन्।

डा. शशांक भने नवलपरासी–१ बाट निर्वाचित भएका थिए। सुजाताजस्तै डा. शेखरपनि मोरङ–७ मा मधेशी जनअधिकार फोरमका विजय गच्छेदारसँग पराजित भए। तर, दुई दुई स्थानबाट विजयी गच्छेदारले सो क्षेत्र खालि गरेपछि भएको उपनिर्वाचनमार्फत् उनी संविधान सभामा प्रवेश गरे।

अर्थात्, संविधान सभा सदस्य भएकाले माधव नेपाल नेतृत्वको सरकारमा सुजाता भन्दा शेखर वा शशांकलाई पठाइनु स्वभाविक भएपनि बाजी सुजाताले मारेकी थिइन्।

सुजाताको शक्ति पिता गिरिजाप्रसाद कोइराला थिए। बीपी पुत्र भएपनि आफ्नै छोरी हुँदाहुँदै गिरिजाप्रसादले डा. शशांकलाई अवसर दिने कुरा थिएन। शेखरको हकमा पनि यही कुरा लागू हुन्थ्यो। सुजाता नै उपप्रधानमन्त्री बनिसकेपछि दुई कारणले माधव नेपाल नेतृत्वको सरकारमा शेखर वा शशांकको सहभागिता स्वभाविक हुँदैनथ्यो।

एक, कोइराला परिवारकी सुजाता उपप्रधानमन्त्री बनिसकेको स्थितिमा सोही परिवारकै अर्काे बरिष्ठ सदस्यलाई मन्त्री बनाइँदा परिवारवाद प्रश्रय दिएको आरोप लाग्थ्यो।

दुई, शेखर, शशांक र सुजाताबीच बरियताबारे अदृष्य द्वन्द्वसमेत थियो। कोइराला परिवारका दोस्रो पुस्ताका यी तीनै नेता एक अर्काे भन्दा आफूलाई बरिष्ठ ठान्थे। यस्तोमा सुजाता मातहतको मन्त्री बन्न शेखर र शशांक तयार हुने स्थिति थिएन।

पछि–पछि पनि सुजाताले मन्त्री बन्ने प्रयास नगरेकी होइनन्। तर, कांग्रेसमा उनको पकड बलियो थिएन। गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसमा उनको स्थिति अरु कमजोर बन्दै गयो। २०७२ मा सुशील कोइरालाको निधनपछि कांग्रेस राजनीतिमा शेखर–शशांक बलियो बने। यी दुई भाईको आरोहसँगै सुजाताको अवरोह सुरु भयो।

तरपनि राजकीय जिम्मेवारीका हकमा शेखर र शशांक दुबैले सुजातालाई अहिलेसम्म भेट्टाउन सकेका छैनन्।

यसकारण मन्त्री बनेनन् सुशील
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका भनाईमा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला झैँ एकैपटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण शेखर–शशांक मन्त्री नबनेका भने होइनन्। कांग्रेसका उपरोक्त चार नेताले परिस्थितिजन्य कारणले मन्त्री नबनी एकैचोटि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको आचार्य बताउँछन्।

राणा–कांग्रेसबीचको द्वन्द्वका कारण प्रधानमन्त्री मोहन शमशेरले २००८ मा राजीनामा दिएपछि मातृकालाई प्रधानमन्त्री बन्ने अवसर जुरेको थियो। भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यलगत्तै अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए। कोइरालालाई पनि ०४८ को आम निर्वाचनमा काठमाडौँ–१ मा प्रधानमन्त्री भट्टराईको आकस्मिक पराजयका कारण प्रधानमन्त्री बन्ने अवसर जुरेको थियो।

सुशील भने बहुदलीय व्यवस्थाकालमा मन्त्री बनेर सरकारमा जान तयार भइसकेका थिए। २०५६ मा कृष्णप्रसाद भट्टराईको राजीनामापछि दोस्रो पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले सुशीललाई सरकारमा लैजाने तयारी गरेका थिए।

‘खुमबहादुर खड्का लगायतका केही नेताले प्रधानमन्त्री कोइरालालाई सुशील दा’लाई पनि मन्त्री बनाउन सुझाव दिए,’ आचार्य भन्छन्, ‘सुशीलले कांग्रेसका केही नेतालाई तस्करहरुले चलाएको भनेर खुला आलोचना गरिरहनु भएको थियो। त्यसैले, खड्का लगायतका नेताहरुले सुशीलबाट हुने आक्रमण रोक्न उहाँलाई मन्त्री बनाएर सरकारमा लैजाने सुझाव दिएका थिए।’

प्रधानमन्त्री कोइरालालाई पनि खड्काको सुझाव उपयुक्त लाग्यो। सुशीलले पञ्चायतकाल र बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पनि कांग्रेसको विदेश विभागको जिम्मेवारी सम्हालिरहेका थिए। यही अनुभवका आधारमा प्रधानमन्त्री कोइरालाले सुशीललाई परराष्ट्र मन्त्रीका रुपमा सहयोग गर्न अनुरोध गरे। प्रधानमन्त्री कोइरालाको अनुरोधलाई सुशीलले पनि स्वीकार गरे।

आचार्यका भनाईमा, कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निवासमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले सुशीललाई परराष्ट्रमन्त्री हुन प्रस्ताव राख्दा उनीपनि साथैमा थिए।

‘महाराजगञ्ज (सुशीलको सम्पर्क कार्यालय) फर्केपछि मैले कांग्रेसभित्रकै अर्काे समूहले असफल बनाउन भूमिका खेल्ने भएकाले मन्त्री नबन्न सुझाव दिएँ,’ आचार्यले थपे, ‘मेरो सुझावमा उहाँ राजी हुनुभयो। र, एकैपटक २०७० मा प्रधानमन्त्री बन्नुभयो।’

२०७० मा प्रधानमन्त्री हुनुअघिसम्म सुशील मन्त्री नबन्नुका अन्य कारण पनि थिए। जस्तो : २०४८–०६४ मा भएका चार निर्वाचनमध्ये उनी दुई निर्वाचनमा मात्र विजयी हुन सके। दुई पटक पराजित भए। २०४८ मा विजयी उनलाई गिरिजाप्रसादले मन्त्री बनाएनन्। परराष्ट्र मन्त्रालय आफ्नो साथमा राखेका प्रधानमन्त्री कोइरालाले परराष्ट्र मामिलामा सुशीलकै सुझाव ग्रहण गर्थे।

२०५१ को मध्यावधि निर्वाचनमा भने उनी पराजित भए। सांसद नभएकाले ०५५ मा मन्त्री बनाउन सक्ने स्थिति थिएन। ०६६ मा कांग्रेसले अवसर पाउँदा सुशील, शेखर र शशांकको साटो सुजाताले अवसर पाइन्। किनकी, गिरिजाप्रसाद कोइरालालाई छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएर कांग्रेसको रोलक्रममा अगाडि लैजानु थियो।

यो छुट्टै कुरा हो कि, पिताको पौरखमा उपप्रधानमन्त्री बनेकी सुजाताले त्यसयता आफ्नै पौरखमा यस्तो जिम्मेवारी हासिल गर्न सकेकी छैनन्।

शेखर–शशांकलाई नजुरेको भाग्य
२०७३ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका बेला नेता डा. शेखर परराष्ट्रमन्त्री बन्ने चर्चा थियो। सो मन्त्रालयमा उनले रुचीपनि देखाएका थिए। तर, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाए, डा. प्रकाशशरण महतले। परराष्ट्रमन्त्री बन्ने त्यही ‘अधुरो ख्वाव’ बाँकी नै रहेकाले २०७९ को आम निर्वाचनपछि फेरि डा. कोइराला परराष्ट्रमन्त्री बन्ने चर्चा चल्न थाल्यो।

तर, यसपटक पनि डा. कोइराला परराष्ट्रमन्त्री बनेनन्। नेपाली कांग्रेसको भागमा परेको यो मन्त्रालयको जिम्मेवारी कांग्रेसका अरु कुनै नेताले लिनेछन्।

‘यसपटक डा. शेखर कोइराला आफ्नो समूहका साथीहरुलाई मन्त्री बनाउने ठाउँमा हुनुहुन्थ्यो,’ कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले भने, ‘त्यही कारण हामीले उहाँलाई यसपटक मन्त्री नबन्न सुझाव दियौँ। हाम्रो सुझाव उहाँले ग्रहण गर्नुभयो।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डा. कोइराला सभापति निर्वाचित शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी थिए। सो समूहका अन्य अगुवाहरुले महाधिवेशनमा सहयोग गरेका अन्य नेताहरुलाई अवसर दिन डा. कोइरालासमक्ष आग्रह गर्नुको कारण यही थियो।

‘२०७३ मा देउवा प्रधानमन्त्री हुँदा डा. कोइरालाले परराष्ट्रमन्त्री दावी गर्नुभएको थियो। तर, त्यो बेला देउवाले डा. महतलाई बचन दिइसकेकाले बनाउन सक्दिनँ भन्नु भएको रहेछ,’ विश्लेषक आचार्यले भने, ‘यसपटक चाहिँ आफ्नो समूहका साथीहरुको सुझाव मानेर उहाँ पछि हट्नुभएको हो।’

यसैपालि मन्त्री बन्ने इच्छा डा. शशांकको मनको एउटा कुनामा जागृत भइसकेको थियो। आफ्नो निर्वाचन क्षेत्र नबलपुर–१ को गैँडाकोटमा २२ फागुनमा मन्त्री बन्ने चाहना प्रकट गरेका थिए उनले। प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटनका क्रममा उनले भनेका थिए, ‘कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास असम्भव छ। तर, कृषिमा सम्भावना हुँदाहुँदै हाम्रा जमिनहरु बाँझो बन्दै गएका छन्। मैले कृषि मन्त्रालय लिएँ भने कृषिको क्षेत्रमा अचम्मको कुरा गर्न सक्छु। यो आत्मविश्वास ममा छ।’

डा. शशांकले सार्वजनिक रुपमा कृषि मन्त्रालयमा रुचि त देखाए। तर, लविङ गरेनन्।

‘मन्त्री पद र डा. शशांकको स्वभाव मेल खाँदैन’ विश्लेषक आचार्यले भने, ‘मन्त्री पद उहाँको स्वभावका लागि बोझ हो। गैँडाकोटको कार्यक्रममार्फत् कृषि मन्त्रालयमा रुचि देखाएपनि मन्त्री बन्ने गरी लविङ नगर्नुको कारण यही हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .