राजनीति


माओवादी अब दल रहेन, विचौलियामा रुपान्तरण भइसक्यो : विष्णु रिजाल

माओवादी अब दल रहेन, विचौलियामा रुपान्तरण भइसक्यो : विष्णु रिजाल

पत्रकार सम्मेलनमा नेता रिजाल


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १२:१४, काठमाडौँ

नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताएका छन्। 

जुम्लाको खलंगामा शुक्रवार विहान आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वाकांक्षा बढिरहेको छ', उनले भने, 'यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलियामा रूपान्तरण गरेको छ। एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागबन्डा र कमिसनको खेलमा बित्ने चिन्ता जनाए।

‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना-महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनुपर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ,’ उनले भने। 
 
सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको रिजालले बताए। 

‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा छ’, उनले भने, ‘अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुनेछ।’

कांग्रेसको भविष्य नदेखेर नेता-कार्यकर्ताले पार्टी छाडिरहेको प्रसंग उल्लेख गर्दै उनले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर छाड्नुले भोलि उनीहरू स्वयमले पार्टी छाड्न आधार बनाएको हुन सक्ने आशंका व्यक्त गरे।

नेकपा (एमाले), जुम्लाका अध्यक्ष शान्तिलाल महतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा मिसन ग्रासरुट अभियानबारे जानकारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad