राजनीति


चितवन २ मा रविको मत घट्दै गएको एमाले विश्लेषण

ग्रासरुट अभियानले उपनिर्वाचनमा मत बढाउने दाबी
चितवन २ मा रविको मत घट्दै गएको एमाले विश्लेषण

फाइल तस्बिर


सागर न्यौपाने
चैत २१, २०७९ मंगलबार १९:५५, काठमाडौँ

दुई महिने ग्रासरुट अभियानले चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको मत घट्दै गएको निष्कर्ष नेकपा एमालेले निकालेको छ। 

वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ।

रास्वपा सभापति रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धाका लागि युवा नेता न्यौपानेलाई अघि सारेको एमालेले अभियानले साधारण, सांगठनिक सदस्य र शुभेच्छुकको संख्या बढेको निष्कर्ष निकालेको हो। 

मंसिर ४ को चुनावमा केही नयाँ हुने आशमा रविको पक्षमा लागेका एमालेका सदस्यसमेतको ठूलो पंक्तिलाई ग्रासरुट अभियानले फेरि फर्किएको स्थानीय नेताहरु बताउँछन्।

४ मंसिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलकोभन्दा तेब्बर बढी मत ल्याएर रास्वपा सभापति लामिछाने निर्वाचित भएका थिए।

लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ ल्याएका थिए। 

त्यसबेला एमालेमा रहेर पनि रविलाई मत दिएका ५० प्रतिशतमध्ये ३० प्रतिशत फर्किएको हिसाब चितवन कार्यालयमा बुझाइएको छ। 

खारेज भइसकेको नागरिकता प्रयोग प्रकरणले रविले सांसद र मन्त्री सबै पद गत माघ १३ गते गुमाएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुँदैछ। 

रविले पाँच महिनाअघि पाएको मत उपनिर्वाचनसम्म पुग्दा निकै घट्ने कांग्रेस-एमाले नेताहरुको विश्लेषण छ।

यद्यपि अझै चुनाव जित्नेगरी माहोल बनिनसकेको भन्दै केन्द्रीय नेताहरु चितवन केन्द्रित हुँदैछन्। 

एमालेका स्थायी कमिटी सदस्य देवी ज्ञवाली र काशीनाथ अधिकारी  तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा खटिएका छन्।

बास्कोटाले अहिलेसम्म क्षेत्र नम्बर २ मा पर्ने भरतपुर महानगरका दशवटै वडा पुगेर एकचरण मतदाता भेटिसकेका छन्। 

उनको घरदैलो अभियानले रविको पक्षमा लागेका नेता-कार्यकर्ता एमालेमै क्रियाशील हुन थालेको दाबी नेताहरुको छ।

अहिलेसम्म ३० प्रतिशत फर्किसकेको एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारीले दाबी गरे।

उपचुनावका लागि रास्वपाबाट रवि उम्मेदवार छन्। कांग्रेसले निवर्तमान सभापति जितनारायण श्रेष्ठ र एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। 

रास्वपा सभापति रविले जित्नेगरी सांगठनिक मत नभएकोले विगतमा पाएको मत यताउता भइसकेको उनको दाबी छ।

‘विगतमा उम्मेदवारी चयनप्रति असन्तुष्टहरुले विकल्पका रुपमा रविजीलाई मत हाल्नुभएको हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘अहिले साथीहरु आफ्नै पार्टीमा फर्किनुभएको छ।’

एमालेले जिल्ला अध्यक्ष एवम् युवा नेता न्यौपानेलाई उम्मेदवार बनाएकोले पहिलाभन्दा माहोल बढेको उनले बताए। 

‘जित-हारका विषयमा अहिले नै भन्न सकिँदैन,’ उनले थपे, ‘एमालेको पुरानो विरासत फर्किने अवस्था देखिएको छ।’

अधिकारीले त्यही क्षेत्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए।  

चुनावी प्रचार सुरु नगर्दै नेता-कार्यकर्ता सम्पर्कमा आउन थालेपछि एमाले हौसिएको छ। यस्तोमा केन्द्रबाट खटिएका बास्कोटासहितका नेता दुई दिनदेखि चुनावलक्षित घरदैलो अभियान गरेर कार्यकर्ता फकाइरहेका छन्। 

मंगलबार मात्र दुईमहिने ग्रासरुट अभियान सकाएको एमालेले यसबाट जनमत बढेको ठहर गरेको छ।

‘चितवनमा निकै राम्रोसँग संगठन सुदृढ भएको छ, तल्लो तहका साथीहरुमा उत्साह छाएको छ,’ उम्मेदवारसमेत रहेका अध्यक्ष न्यौपानेले नेपालखबरसँग भने, ‘चितवन एमाले एकजुट भएर चुनावमा होमियो ।’ 

कांग्रेस-एमालेले मत बढेको बताए पनि अझै रवि नै बलियो उम्मेदवार हुन्। यो केही दिनमै तोडिने उनीहरुको आँकलन छ।

‘कांग्रेस र एमालेका सक्रिय नेताहरु फर्किनेबित्तिकै रास्वपाको मत स्वतः घट्छ,’ न्यौपानेले दाबी गर्दै भने, ‘चितवनलाई दुवै दलले निकै प्राथमिकता दिएका छन्।’ 

गोकुल मात्रै होइन, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावी कमान्डर बनेर २ नम्बर क्षेत्रमै खटिएका छन्। 

एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटासँग चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपाने

ओली चितवन जाने
चितवन २ मा चुनावी सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई लैजाने तयारी भएको छ।

‘अध्यक्ष एकपटक सम्बोधन गर्न यहाँ आउनुहुन्छ, मिति तय भइसकेको छैन, एकचरणको प्रचार सकेपछि उहाँलाई बोलाएर चुनावी कार्यक्रम राख्छौँ,’ न्यौपानेले भने।

भरतपुर महानगरको २, ५, १०, ११ र १२ नम्बर वडाबाट पुरानै मत जोगाउने प्रयासमा एमाले छ।

४ मंसिरको चुनावमा तिनै वडाबाट रविले सबैभन्दा बढी मत लगेका थिए।

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले तुलनात्मक रुपमा बलियो छ।

रविले कालिका नगरपालिकामा यसपटक निकै मिहेनत गरेका छन्। त्यहाँका स्थानीयको चासो र समस्या तत्काल सम्बोधन पहल गरेका थिए। 

एमालेले भरतपुरको २९ नम्बर वडा कविलासमा विशेष क्षेत्र बनाएर प्रचार थाल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .