राजनीति


देउवासँग आश्वस्त हुन सकेनन् गोविन्दराज जोशी

गगनसँगको वार्ताबारे छोरा दिपक भन्छन् : पार्टीको चिन्ता नै रहेनछ
देउवासँग आश्वस्त हुन सकेनन् गोविन्दराज जोशी

फाइल तस्बिर


केशव सावद
चैत २७, २०७९ सोमबार १४:४५, काठमाडौँ

तनहुँ-१ मा वैशाख १० गते हुन गइरहेको उपननिर्वाचनमा निर्णायक देखिएको गोविन्दराज जोशीको समूह नेपाली कांग्रेससँग सन्तुष्ट हुन सकेको छैन।

महामन्त्री गगन थापादेखि सभापति शेरबहादुर देउवासम्मको छलफलमा कांग्रेसले माग सम्बोधनमा गम्भीरता नदेखाएका कारण जोशी समूह सन्तुष्ट हुन नसकेको हो।  

२०७४ को निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएपछि कारबाही गरिएका पूर्वसहमहामन्त्री जोशीको समूह उपनिर्वाचनका लागि निर्णायक देखिएपछि कांग्रेस उनलाई पार्टीमा भित्र्याउन प्रयासरत छ। तर, उक्त समूहले कांग्रेसको प्रयास उपनिर्वाचनका लागि मात्रै आफूहरुलाई ‘उपयोग’ गर्ने ढंगले अगाडि बढाइएको टिप्पणी गरेको छ। 

सभापति देउवासँग सोमबार धुम्बाराहीमा छलफल गरिसकेपछि जोशीका छोरा दिपकले आफूहरुलाई उपनिर्वाचनका लागि मात्रै उपयोग गर्न खोजेको टिप्पणी गरे।

तनहुँ–१ मा ‘निर्णायक’ जोशी समूह फकाउँदै कांग्रेस

‘देउवा अंकलले बुवालाई फोन गरेर दिपकलाई पठाइदेउ भन्नुभएको रहेछ। बुवाले भनेपछि म धुम्बाराही गएको थिएँ,’ उनले नेपालखबरसँग भने, ‘पहिले कै कुराहरु राखेँ। उहाँहरुले चुनावका लागि मात्र उपयोग गर्न खोजेको जस्तो छ।’

दिपकले आफूले २०४७ सालपछि कांग्रेसले कारबाही गरेका र परित्याग गरेका सबैलाई बिनाशर्त पार्टीमा फिर्ता गरेर उचित स्थान दिनुपर्ने माग जोशी समूहको तर्फबाट देउवासामु राखिएको बताए।

‘२०४६ सालपछिका सबैलाई बिनाशर्त कहाँ–कहाँ राख्न सकिन्छ, राखेर जाऔं भन्ने कुरा मैले राखेँ,’ उनले भने। 

दिपकले तनहुँमा आफूहरुसँग ७ हजार मत रहेको दोहोर्याउँदै मतका आधारमा आफूहरुको कांग्रेसमा समायोजन हुनु पर्ने एजेन्डा पनि सभापति देउवासँग राखेको बताए।

‘हामीसँग ७ हजार मत छ। त्यो भनेको ३३ प्रतिशत हो। समायोजन पनि ३३ प्रतिशत नै हुनुपर्छ भनेर कुरा राखेँ,’ उनले भने। 

जवाफमा सभापति देउवाले सबै कुरा मिलाएर जानु पर्ने र जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा पार्टीमा फर्काउने बताएको दिपकको भनाइ छ। 

‘सबै कुरा मिलाउनु पर्छ, मिलाउँछाैँ भन्नुभयो। सबै हुन्छ भन्नुभयो,’ उनले छलफलका क्रममा देउवाको भनाइ सम्झिँदै भने, ‘के–के हुन्छ सबै भनेको, केन्द्रीय सदस्य लिएर आउने भन्नुभयो।’

नेता जोशी आफूमात्रै केन्द्रीय सदस्य भएर कांग्रेसमा फर्किने सम्भावना नरहेको उनले दोहोर्‍याए। दिपकले कांग्रेसका कुनै पनि नेतालाई पार्टीको भविष्यबारे चिन्ता नरहेको पनि जिकिर गरे।

‘मैले महामन्त्री (गगन थापा) सँग छलफल गरेपछि यो बीचमा अरु–अरु नेताहरुसँग पनि छलफल गरेँ। आज सभापतिसँग गरेँ,’ उनले भने, ‘कसैलाई पार्टीको चिन्ता रहेनछ।’

दिपकले उपनिर्वाचन र कांग्रेससँगको वार्ताका बारेमा दुई दिनभित्रै जोशी समूले औपचारिक धारणा सार्वजनिक गर्ने पनि जानकारी दिए।

‘देउवा अंकलसँग भएको कुरा मैले बुवालाई भनिसकेँ। अब टिममा छलफल गरेर बुवाले चाँडै वक्तव्य निकाल्नु हुन्छ,’ उनले भने, ‘मैले छुट्टै निकाल्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .