राजनीति


ओलीको शुभकामना सन्देश : सिद्धान्तहीन सिन्डिकेटको राजनीति नयाँ वर्षमा चल्दैन

ओलीको शुभकामना सन्देश : सिद्धान्तहीन सिन्डिकेटको राजनीति नयाँ वर्षमा चल्दैन

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:३९, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा देखिएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एक भएर अघि बढ्नु जरुरी रहेको  बताएका छन्।  

नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे। 

उनले बलियो राष्ट्रिय शक्ति निर्माणबाट नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने पनि  बताए।  

बलियो राष्ट्रिय शक्ति निर्माण प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उनले बताएका छन्। 

उनले सिद्धान्तहीन गठबन्धन र विचारविहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै नयाँ वर्षमा जनताको निराशा चिर्नुपर्ने पनि बताएका छन्। 

'हामीले बितेको वर्षका अन्तिम दुई महिना नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न 'मिसन ग्रासरुट' अभियान थालनी गरेका छौँ', उनले भने, 'सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न एमालेलाई बलियो बनाउन यस अभियानले मद्दत पुग्ने छ।'

ओलीले एमालेविरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण एमाले पहिलो लोकप्रिय राजनीतिक दलको रुपमा रहन सकेको तर्क गरेका छन्। 

'अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ', उनले भनेका छन्। 

राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उनको भनाइ छ। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै बारम्बार अवसरवादी चरित्र देखाइरहेको बताएक छन्। 

'बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण बलियो राष्ट्रिय शक्ति निर्माणमा हाम्रो प्रयास सफल हुन सकेन। मुलुकमा निर्माणको प्रथमिकताबाट बिखुख, भ्रष्टाचार, कुशासन, बिसंगति, बेथिति र अस्थिरताका पुराना दुषित खेलको पुनरावृत्ति हुन पुग्यो', उनले भनेका छन्, 'बितेको वर्षमा भएको आमनिर्वाचनबाट हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .