नेकपा माओवादी केन्द्रका प्रदेश सांसद हरिबहादुर चुमानको वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता गठबन्धनभन्दा दोब्बर बढी मत पाएको छ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहेका चुमानको वडा आँबुखैरेनी गाउँपालिका–२ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर बढी मत पाएका हुन्।
उपनिर्वाचन भएको तनहुँ–१ मा पर्ने उनको वडामा वाग्लेले ८८१ मत पाएका छन्।
यहाँ सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा ३३६ मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चुमानको वडामा नेकपा एमालेका उममेदवार सर्वोन्द्र खनालले १०८ मत ल्याएका छन्।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट चुमान र नेपाली कांग्रेसबाट निर्वाचित गोरखाका सुरेन्द्रराज पाण्डे दाबेदार छन्।
एमाले खगराज अधिकारी नेतृत्वको सरकार ढलिसकेपछि गठबन्धन नयाँ सरकार निर्माणको कोसिसमा छ।
यस्तोमा चुमान र पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरिरहेका छन्। मुख्यमन्त्रीकै दाबेदारको वडामा भट्टराईलाई कम मत आएपछि कांग्रेसले चुमानमाथि प्रश्न गर्न थालेको छ।
कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा कुरा मिलिसकेको छैन। यस्तोमा आइतवार प्रदेशसभाको चालु अधिवेशन पनि अन्त्य गरिएको छ।
यसअघि गत वर्ष वैशाखमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो। गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको थियो।
गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका थिए। अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका थिए।
त्यहाँ प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया