ad ad

राजनीति


सदस्यता लिन रास्वपामा दैनिक ५ सयको आवेदन, ठूला दलका नेता पनि संवादमा

मधेश र कर्णालीमा कमजोर छ आकर्षण
सदस्यता लिन रास्वपामा दैनिक ५ सयको आवेदन, ठूला दलका नेता पनि संवादमा

फाइल तस्बिर


सागर न्यौपाने
बैशाख २०, २०८० बुधबार ७:१८, काठमाडौँ

उपचुनावमा थप एक क्षेत्र जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिएको छ। प्रतिनिधि सभामा एक सिट थपेसँगै रास्वपाले देशव्यापी संगठन विस्तार योजना अघि सारेको छ।

उक्त योजना ल्याएपछि अहिले सदस्यता लिनेहरुको संख्या दैनिक ७ सय पुगिरहेको रास्वपाका नेताहरुले बताएका छन्। 

सर्वसाधारणको आकर्षण बढ्न थालेपछि रास्वपाले देशभर संगठन बनाउने तयारी थालेको छ। त्यसका लागि नेताहरुलाई गाउँगाउँ पठाउने योजना बनाइँदैछ।

४ मंसिरको चुनावमा प्रत्यक्षतर्फ ७ सिट पक्का गरेको रास्वपाले समानुपातिकमा ११ लाख मत पाएर १३ सांसद जितेको थियो।

त्यस बेलादेखिको आकर्षण १० वैशाखको उपचुनावबाट झन् बढेको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले दाबी गरे।

मंसिर ४ मा नेपाली कांग्रेसले जितेको तनहुँ क्षेत्र नम्बर १ उपचुनावमा रास्वपाले खोस्न सफल भएको छ। यस्तै चितवन २ मा सभापति रवि लामिछाने पहिलेभन्दा करिब ५ हजार बढी मत पाएर विजयी भएका थिए।

मंसिरमा रविसँग नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले प्रतिस्पर्धा गरेका थिए।

उपचुनावमा दुवै पार्टीले स्थानीय नेतालाई उठाएका थिए। तर, उपचुनावमा दुवैको मत घटेको छ। 

‘उपचुनावपछि हाम्रो पार्टी सदस्यता भर्नेहरुको संख्या २० प्रतिशत बढेको छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘अहिले हाम्रो पार्टीमा आममानिसको आकर्षण बढेको छ, विश्वास बढेको छ।’

‘अनलाइन फर्म भर्ने संख्या दैनिक ५ देखि ७ सय पुगेको छ,’ उनले थपे, ‘हामीले मोबाइल एप पनि बनाएका छौं, त्यहीँबाट अनलाइन सदस्यता भर्न सकिने भएकाले देश–विदेशबाट ओइरो लागेको छ।’

अहिलेसम्म सदस्यताका लागि १ लाखको आवेदन प्राप्त भएको उनले बताए।

‘तर, २५ देखि ३० हजारको मात्रै आवेदन स्वीकृत भइसक्यो, बाँकीको प्रक्रियामा छ,’ सह–महामन्त्री बुर्लाकोटीले थपे।

अघिल्लो वर्ष असार ७ गते गठन भएको रास्वपाले प्रतिनिधि सभाको चुनावमा नसोचेको सफलता पायो। त्यहीकारण ठूला र पुराना दलका नेतासमेत रास्वपातिर आकर्षित हुन थालेको एक पदाधिकारीले बताए।

कांग्रेसमा लामो समय राजनीति गरेकै नेता पनि हामीसँग आउन तयार हुनुहुन्छ, जिल्लाका नेताहरुले केही दिनमै घोषणा गर्नुहुन्छ,’ ती पदाधिकारीले भने, ‘एमाले र माओवादीका नेताहरुसँग पनि छलफलमै छौँ।’

तर उनले नेताहरुको नाम खुलाउन चाहेनन्।

कार्यकर्ता र संगठन नभई चुनावमा सफलता पाएको भन्दै उसले यसलाई निरन्तरता दिन मतदातालाई संगठित गर्ने गरी १ लाख मात्रै सदस्यता वितरण गर्ने योजना बनाएको थियो।

तर, अनलाइन फारम भर्ने र फोनबाटै पार्टी सदस्यता लिन चाहनेहरुको संख्या ३ लाख नाघ्ने रास्वपाको अनुमान छ।

‘ठूलो संगठन बनाउने चाहना थिएन, चुस्त र व्यवस्थित बनाउन पनि देशभर थोरै सदस्य वितरण गर्ने लक्ष्य अब नाघ्छ,’ बुर्लाकोटीले भने।

कर्णाली र मधेशमा कमजोर

बागमती, गण्डकी प्रदेश र काठमाडाैं उपत्यकामा बलियो देखिएको रास्वपा मधेश र कर्णाली प्रदेशमा भने कमजोर देखिएको छ। मंसिरको चुनाव र वैशाखको उपनिर्वाचनमा पनि खासै पार्टीका पक्षमा माहोल बनाउन नसकेको सो पार्टीले निष्कर्ष निकालेको छ। कोशी प्रदेशमा पनि धेरै उत्साह जागिसकेको छैन।

‘५ वटा प्रदेशमा आक्रामक संगठन विस्तार हुने देखिए पनि कर्णाली र मधेशमा निकै मेहनत गर्नु पर्नेछ,’ प्रवक्तासमेत रहेका डा. ढकालले भने, ‘आगामी दिनमा ती प्रदेशलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउँछौँ।’

‘अन्य ठाउँको रणनीति कर्णाली र मधेशमा फेल खायो, त्यही भएर पनि हामी नयाँ रणनीति बनाउँदै संगठन बनाउनपर्ने निचोडमा पुग्याैँ।’ 

वैशाख १० मा बारा २ को उपचुनावमा रास्वपाका उम्मेदवार रमेश खरेलले निकै थोरै मत पाए।

त्यही भएर रास्वपाले अबको कार्यक्रम बनाउँदा मधेश र कर्णाली प्रदेशलाई विशेष ध्यान दिने भएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले संगठन विस्तार आक्रामक बनाउन नेताहरु गाउँ पठाउने निर्णय गरेको छ।

वडा, पालिका र क्षेत्रीय समिति बनाउने
अहिले रास्वपाको केन्द्रबाटै सबै निर्णय हुँदै आएको छ। 

संगठनलाई व्यवस्थित बनाउन र वडादेखि केन्द्रसम्म सम्पर्क हुनेगरी रास्वपाले तीन तहको संरचना बनाएको छ– वडा, पालिका र निर्वाचन क्षेत्र।

संगठन बनाउन विभिन्न जिम्मेवारीमा रहेका नेताहरु खटिनेछन्।

हरेक वडा भेला गरेर समिति बनाउने र पालिका समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको छ।

यसअघि रास्वपाले प्रदेश कमिटी बनाएको थियो। तर उसैले मंसिरको निर्वाचनमा प्रदेश सभामा उम्मेदवारी दिएको थिएन।

वडा भेला गर्न गाउँपालिकाको हकमा न्यूनतम ३३ जना हुनुपर्छ, नगरपालिकाको वडामा कम्तीमा ४५ जना सदस्य हुनुपर्ने व्यवस्था छ।

यस्तै, उपमहानगर र महानगरपालिकाको वडा समिति बनाउन कम्तीमा ५५ सदस्य हुनैपर्ने प्रावधान छ। 

उता, पालिका समिति बनाउन कम्तीमा ५५ जना तोकेको रास्वपाले नगरपालिका समिति गठनका लागि ६६ र उपमहानगर/महानगर समिति बनाउन ७७ सदस्य हुनैपर्ने प्रावधान राखेको छ। 

सदस्य संख्या नपुगी भेला गर्न नपाइने भएकोले कार्यान्वयनमा कडाइ गर्ने नेताहरु बताउँछन्। 

भेला गरेपछि समिति छान्न सहमति वा चुनाव गर्न पाउने सुविधा दिइएको छ।

‘सहमति नभए चुनावबाट कुनै पनि समितिको नेतृत्व चयन गर्न स्वतन्त्रता दिइएको छ,’ प्रवक्ता डा. ढकालले थपे।

उनका अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमा समिति बनाउन उम्मेदवारको अनलाइन आवेदन खुलाएको छ।

वैशाख ३० गतेसम्म आवेदन लिने र जेठ पहिलो हप्ता चुनाव गरेर संघीय निर्वाचन क्षेत्रीय समिति बनाउने तयारी छ। 

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले ३७ वटा विभाग प्रमुख टुंगो लगाएको छ।

विभाग प्रमुख चयन भइसकेकोले अब जनताको समस्या समाधानमा लाग्दै संगठन विस्तार गर्ने रास्वपाका नेताहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .