नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष र पूर्वअध्यक्षहरुसँग छलफल गरेका छन्।
तरुण दलका पूर्वअध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उनले अध्यक्ष विद्धान गुरुङसँगै पूर्वअध्यक्षहरुसँग छलफल गरेका हुन्।
देउवा निवास धुम्बाराहीमा बुधबार भएको छलफलमा गुरुङसँगै तरुण दलका पूर्वअध्यक्षहरु हाल कांग्रेस सहमहामन्त्री महेन्द्र यादव तथा केन्द्रीय सदस्यद्वय उदय शमशेर राणा र जीतजंग बस्नेत सहभागी थिए।
केन्द्रीय सदस्यसमेत रहेका खाँण बुधबार बिहान पक्राउ परेपछि तरुण दलका वर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु धुम्बाराही गएका थिए। तर, उनीहरुले सभापति देउवासँगको छलफल पूर्वनिर्धारित भएको दाबी गरेका छन्।
बस्नेतले सभापति देउवाले तरुण दल विस्तारबारे छलफल गर्न आफूहरुलाई धुम्बाराही बोलाएको जानकारी दिए। उनले छलफलका क्रममा खाँण पक्राउ बारे कुनै प्रसंग ननिस्किएकोसमेत जिकिर गरे।
‘तरुण दल विस्तारसम्बन्धी छलफलका लागि हामीलाई सभापतिज्यूले बोलाउनुभएको हो। आज वा भोलिसम्म विस्तार गर्ने पार्टीको तयारी छ,’ बस्नेतले भने, ‘कति सदस्यीय कार्यसमिति बनाउने, जनप्रतिनिधिहरुलाई कार्यसमितिमा राख्ने कि नराख्ने लगायतका विषयमा छलफल भयो।’
पूर्वगृहमन्त्री खाँणको पक्राउ बारे नेपालखबरको प्रश्नमा उनले भने, ‘त्यो बारेमा कुनै कुरा भएन। हामीलाई तरुण दलकै विषयमा छलफल गर्न बोलाइएको थियो।’
उक्त छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए।
Shares

प्रतिक्रिया