राजनीति


संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव

नेपालखबर
जेठ ६, २०८० शनिबार १३:५, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्। 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै पूर्ण रुपमा संविधान लागू गरेर जानुपर्ने बताए। 

‘संविधानलाई पुनःर्मूल्यांकन गर्ने बेला भएको छैन । यसलाई लागू गर्नेतिर हामी जाऔँ। एकाध चुनावहरू हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ,’ यादवले भने।

वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनले बताए। यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे।

उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे।

‘यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ। हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ।’

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधान अनुकुल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए। 

‘जनताले जुन मत दिन्छन्, प्रतिनिधि पठाउँछन् त्यो प्रतिनिधिले आफ्नो संविधान अनुकुल काम गर्दैनन्, रुल अफ ल हुनुपर्नेमा रुल बाइ ल हुन्छ,’ उनले भने, ‘शासकले विधिलाई शासन गरिरहेको छ, विधिले शासकलाई शासन गर्नुपर्ने हो। तर यसरी विधिलाई शासकले शासन गर्दा कितावबाट भएर पनि जनसमक्ष लेखेर जनतामा ल्याउनुपर्छ भनेर लेख्ने गरेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .