राजनीति


औपचारिक समितिका बैठक नबोलाए विशेष महाधिवेशन बोलाउने चेतावनी

औपचारिक समितिका बैठक नबोलाए विशेष महाधिवेशन बोलाउने चेतावनी

नेपालखबर
जेठ १६, २०८० मंगलबार १८:१७, काठमाडौँ

नेपाली कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरिरहेको सूमहले पार्टीका औपचारिक समितिका बैठकहरु नबोलाए विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको छ। 

अभियानअन्तर्गत मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित बागमती प्रदेश विशेष कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका हुन्। 

कांग्रेसको विधानअनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने व्यवस्था छ। तर, १० महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। 

नेता आचार्यले उपसभापति र महामन्त्रीहरुले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे पनि नेतृत्वले नसुनेकोभन्दै आपत्ति जनाए। 

‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदि सञ्चालनमा ल्याइँदैन। बेलैमा मिटिङहरु बसाइँदैन। केन्द्रीय समितिको बैठक बस्दैन। वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदि नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ।’

भ्रष्टाचारका कुराहरुलाई पार्टीले ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने आचार्यको भनाइ थियो। कांग्रेस बिग्रिन र सिद्धिन लागेको भन्दै उनले पार्टीलाई जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे। 

आफूहरुको अभियान कांग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको आचार्यको प्रष्टोक्ति थियो।

‘यो कुनै गुटको मिटिङ होइन। कुनै गुटको अभियान होइन। कांग्रेस बिग्रिन लाग्यो। कांग्रेस सिद्धिन लाग्यो। कांग्रेस कमजोर गर्न थालियो। कांग्रेसलाई जनताले माया गर्न छोड्न थाले। र पार्टी सदस्यहरु पनि दिग्भ्रमित हुन थाले,’ आचार्यले भने, ‘अब यो अवस्थाबाट कांग्रेस जोगाउनुपर्छ। भोलिको भविष्य यही कांग्रेसबाट खोज्नुपर्छ। साथीहरुलाई यही भित्र आश्वस्त गर्नुपर्छ। जे–जे परिवर्तन गर्नुपर्छ, जे–जे सुधार गर्नुपर्छ। हाम्रै बीचबाट हामी नै गरौँ। हाम्रै काँग्रेसलाई राम्रो बनाउँ। यसैलाई बलियो बनाऔँ। यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडि बढेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .