ad ad

राजनीति


प्रचण्डको भारत भ्रमण उपलब्धिहीन : मसाल

प्रचण्डको भारत भ्रमण उपलब्धिहीन : मसाल

नेपालखबर
जेठ २५, २०८० बिहिबार २१:७, काठमाडौँ

नेकपा (मसाल) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएको छ।

मसालको हालै बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको महामन्त्री मोहनविक्रम सिंहले वक्तव्यमार्फत जनाएका छन्।

प्रधानमन्त्रीले भारत भ्रमणका सन्दर्भमा देशहितका कुनै पनि विषयमा पहलकदमी लिन नसकेको मसालले ठहर गरेको छ।

अतिक्रमित कालापानी क्षेत्रलाई भारतसँग सट्टापट्टा गर्न खोजेको आशंका गर्दै मसालले कालापानीलाई सौदाबाजीको विषय बनाउने कुरालाई खारेज गरेको छ।

भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनबारे ठोस पहल गर्न नसकेको, हवाई रुटको ठोस पहल नभएको, लुम्बिनी र कपिलवस्तु समेटिएको नक्साबारे अडान राख्न नसकेको तथा कतिपय देशहित विपरितका सन्धी सम्झौता गरेको भन्दै प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको मसालले ठहर गरेको छ।

महामन्त्री सिंहद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रचण्ड सरकारसँग कैयौँ गम्भीर मतभेद भएपनि गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा लिएको अडानप्रति भने समर्थन जनाइएको छ।

यस्तै, मसालले देश आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको भन्दै यसको दोष संघीय संरचना भएको ठहरसहित संघीयता खारेजीमा जोड दिएको छ।

यस्तो छ वक्तव्य
यही २०८० जेठ २३ र २४ गते ने.क.पा. (मसाल)को केन्द्रीय कार्यालयको बैठक उपलब्ध केन्द्रीय सदस्यहरू सहित बस्यो। त्यो बैठकले देशको तात्कालिक राजनीतिक स्थिति र घटनाक्रमबारे विस्तृत रूपले छलफल गरी निकालेका निष्कर्षहरूबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ।

१. बैठकले देशको वर्तमान राजनीतिक स्थितिबारे समग्र रूपमा विचार गरी प्रचण्ड सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ। वर्तमान सरकारसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू रहेका छन्। ती मतभेदहरूबारे आवश्यकताअनुसार विरोध गर्ने वा सङ्घर्ष सञ्चालन गर्ने नीति कायम राख्दै सरकारलाई समर्थन गर्ने हाम्रो नीति हुने छ। खास गरेर देशमा गणतन्त्र र धर्मनिरपेक्षतामाथिको प्रतिगामी शक्तिहरूको आक्रमण चौतर्फी रूपमा बढ्दै गएको हुनाले र वर्तमान सरकारका अन्य कतिपय कमजोरीहरू भएपनि गणतन्त्र र धर्मनिरपेक्षता समेतबारे वर्तमान सरकारले स्पष्ट नीति लिएको हुनाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनुको अर्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्ने तथा राजतन्त्रलाई पुनस्र्थापना गर्ने प्रतिगामी नीतिलाई मदत गर्नु नै हुने छ र त्यस प्रकारको नीतिका साङ्घातिक र दुरगामी दुष्परिणामहरू हुने छन्।

२. यो वास्तविकताप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान छ कि परराष्ट्र सम्बन्ध र विभिन्न घरेलु नीतिहरूबारे सरकारले कैयौँ गलत नीतिहरू अपनाएको छ। प्रधानमन्त्री प्रचण्डले हालैको भारत भ्रमणका बेलामा राष्ट्रिय महत्वका कैयौँ प्रश्नहरूमा कुनै ठोस पहलकदमी गर्न नसकेको कुराप्रति हाम्रो गम्भीर ध्यान गएको छ। खास गरेर कालापानी क्षेत्रबारे कुनै सौदाबाजी वा सट्टापट्टाको नीति अपनाउन थालिएको ता होइन ? त्यो गम्भीर आशङ्का उत्पन्न भएको छ। हाम्रो पार्टीले कालापानी क्षेत्रबारे कुनै पनि प्रकारको सौदाबाजी गर्ने कुरालाई खारेज गर्दछ र त्यो दिशामा अपनाइने कुनै पनि नीतिको कडा विरोध गर्दछ। यसका लागि पनि हाम्रो पार्टीले कडा आपत्ति प्रकट गर्दछ कि प्रबुद्ध समूहले तयार पारेको इपीजीबारे प्रधानमन्त्रीको यात्राको बेलामा कुनै ठोस पहल गरिएन। भैरहवा र पोखराका विमानस्थलहरूका लागि हवाई रुट प्राप्त गर्ने प्रश्नहरूमा पनि प्रधानमन्त्रीको यात्रा उपलब्धीविहिन रह्यो।

भारतले नयाँ संसदको भवनको भित्तामा बनाएको अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेतलाई समावेश गरिएको विषयमा पनि नेपाल सरकारले कुनै विरोध प्रकट नगरेको कुराप्रति पनि हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ। भारतको नीति पहिलेदेखि नै नेपालको जल सम्पदामा एकाधिकार कायम गर्ने नीति रहँदै आउको छ र अहिले प्रचण्डको भारत यात्राको दौरानमा पनि त्यस प्रकारका कतिपय सम्झौताहरु गरिएका छन्। उक्त प्रश्नहरूमा वर्तमान सरकारका असफलताहरूको कडा आलोचना गर्नुका साथै त्यस सन्दर्भमा हाम्रो ध्यान भारतका शासक वर्गहरूको नेपालप्रतिको साम्राज्यवादी नीतितर्फ पनि जानुपर्ने आवश्यकता छ।

३. वास्तवमा भारतले दशकौँदेखि नेपालप्रति हस्तक्षेप र अतिक्रमणको नीति अपनाउँदै आएको छ र अहिले नेपालका प्रधानमन्त्रीको भारत यात्राका बेलामा पनि भारतीय प्रधानमन्त्रीको त्यही प्रकारको व्यवहार प्रकट भएको छ। भारतको नेपालप्रतिको त्यस प्रकारको साम्राज्यवादी व्यवहारमाथि समग्र रूपमा ध्यान दिँदै एकातिर, कालापानी सहितका प्रश्नहरूबारे अन्तर्राष्ट्रियकरण गर्ने र, अर्कातिर, नेपालमा राष्ट्रियताका पक्षमा व्यापक जनचेतना र जनआन्दोलन उठाउन पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ।

४. देशमा विकास सम्बन्धी कार्यहरू, अर्थतन्त्र तथा भ्रष्टाचारको नियन्त्रणमा समेत सरकारले खास ध्यान दिन नसकेको कुराप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ। नक्कली भूटानी प्रकरणले नेपालमा भ्रष्टाचारले धेरै गम्भीर र व्यापक रूप लिएको देखिन्छ। देशमा आर्थिक सङ्कट अत्यन्त गम्भीर हुँदै गएको छ। त्यसैको परिणाम हो कि सरकारले विकास र सामाजिक सुरक्षा सम्बन्धी कैयौँ खर्चहरू बजेटमा हटाएको छ। प्रशासनयन्त्रका साथै उच्च राजनीति वृत्तमा समेत देखा परेको भ्रष्टाचारले देशलाई तीव्र गतिले आर्थिक मन्दीतिर लगिरहेको छ। त्यो अवस्थाबाट जनजीवनमा गम्भीर असर पर्नुका साथै त्यसमाथि खेलेर प्रतिगामी र साम्राज्यवादी शक्तिहरूले देशलाई प्रतिगमन र साम्राज्यवादी प्रभुत्वको दिशामा लैजाने योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन्। त्यसप्रति हाम्रो पार्टीले सम्पूर्ण देश र जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ।

५. देशमा पैदा भएको यस प्रकारको गम्भीर आर्थिक स्थितिका लागि सङ्घीयता र त्यस अन्तर्गतको प्रादेशिक संरचना पनि धेरै नै जिम्मेवार छन्। त्यसैले अहिलेको बढ्दो आर्थिक सङ्कट समाधान गर्नका लागि पहिलो कदमका रूपमा सङ्घीयतालाई खारेज गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन चाहन्छ।

६. हाम्रो पार्टीको यो वास्तविकताप्रति पनि ध्यान गएको छ कि परराष्ट्र सम्बन्धबारे वर्तमान सरकारले स्पष्ट र दृढ नीति अपनाउन नसकेको भएपनि त्यसले अंशतः जुन तटस्थ नीति अपनाएको छ, त्यसबाट अमेरिकी र भारतीय साम्राज्यवाद दुवै वर्तमान सरकारप्रति सन्तुष्ट छैनन्। उनीहरूले नेपालमा वास्तवमा यस्तो सरकार चाहन्छन् जसले पूरै नै उनीहरूको निर्देशनमा काम गरोस्। अमेरिकाले नेपाललाई आफ्नो इण्डोप्यासिफिक रणनीति अन्तर्गत तथा तिब्बतमा दलाई लामालाई पुनस्र्थापना गर्न, सैन्य कार्बाही गर्न, नेपालको भूमि सैनिक रुपले प्रयोग गर्न चाहन्छ। त्यही प्रकारले भारतले पनि आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा नेपाललाई पूरै प्रयोग गर्न चाहन्छ।

तर वर्तमान सरकारले अमेरिकी साम्राज्यवाद वा भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउने गरेको भएपनि उनीहरूले अमेरिका वा भारतले खोजेको भन्दा बेग्लै चीनप्रतिको मैत्रीपूर्ण नीतिलाई पनि पूरै त्याग गर्न सकेका छैनन्। त्यसैको परिणाम हो कि अमेरिका र भारत दुवैले वर्तमान सरकारलाई पूरै समर्थन गरेका छैनन् र वर्तमान सरकारको ठाउ“मा उनीहरूले यस्तो सरकार स्थापना गर्न खोजिरहेका छन्, जो पूरै उनीहरूको निर्देशनमा चलोस्। वर्तमान सरकारका परराष्ट्र सम्बन्धी कैयौ“ नीतिहरूप्रति हाम्रा गम्भीर आलोचनाहरू छन्। तर वर्तमान सरकारका ठाउ“मा पूरै अमेरिकापरस्त वा भारतपरस्त सरकारको स्थापना भयो भने देशमा त्यसका गम्भीर र घातक दुष्परिणाम हुने खतराप्रति उच्च सतर्कता अपनाउन हामीले सम्पूर्ण देश र जनतासित अपिल गर्दछौ“। यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेलामा उनीप्रति जुन प्रकारको अपमानजनक र उपेक्षाको नीति अपनाइयो, त्यो पनि वर्तमान सरकारमाथि उनीहरुले पूरा विश्वास नगरेको कुराको नै परिणाम हो।

७. बैठकमा अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत बजेटबारे पनि विस्तृत रूपले छलफल गरियो र त्यसबारे यस प्रकारका निष्कर्षहरू निकालिएको छ :

१. देशको अर्थतन्त्र धेरै नै बिग्रेर जानुको पछाडि सङ्घीयता वा प्रादेशिक संरचनामा भइरहेको अनावश्यक खर्च गम्भीर रूपले जिम्मेवार छ। त्यसकारण आर्थिक अवस्थामा सुधारका लागि प्रारम्भ सङ्घीयता वा त्यसको प्रादेशिक संरचना खारेज गरेर नै गर्नुपर्दछ।

२. नीति र कार्यक्रममा प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिने कुरा बताइएको थियो। तर बजेटमा त्यस सम्बन्धी कुनै व्यवस्था गरिएको छैन। त्यसबाट सरकारले प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनको लागि कुनै इच्छा नगरेको कुरा नै बुझिन्छ। सिद्धान्तः प्रवासी नेपालीलाई मतदानको अधिकार दिने कुरा गरेपनि भारत सहित सार्कमा पर्ने देशहरूका प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट बञ्चित गराउन खोजिएको कुरालाई पनि हाम्रो पार्टीले गलत ठान्दछ र उनीहरूलाई पनि मतदानको अधिकार दिनुपर्ने आवश्यकतामा जोड दिन्छ।

३. बालुवा, गिट्टी, निकासी गर्ने कार्यको विरोध गर्नुपर्दछ।

४. उद्योगको विकास, भूमिसुधार र रोजगारी समेतबारे बजेटले कुनै ठोस कार्यक्रम प्रस्तुत गर्न सकेको छैन।

५. सहकारीमा भएको व्यापक भ्रष्टाचार र अनियमिततालाई बन्द गर्नुपर्छ।

६. विशेष आर्थिक क्षेत्रले मजदुरहरूको हक र हितमा बाधा पुर्याउछ र दलाल पुँजीपति वर्गको सेवा गर्दछ। त्यसकारण त्यसको विरोध गर्नुपर्दछ।

७. बजेटले कपिलवस्तु, लुम्बिनी, रूपन्देही र पश्चिम नवलपरासी समेतलाई मिलाएर बौद्ध पुरातात्विक सहरको निर्माणका लागि कुनै योजना ल्याएको छैन। खास गरेर अहिले भारतले कपिलवस्तु र लुम्बिनी समेतलाई आफ्नो नक्सामा समावेश गरेर त्यसलाई कब्जा गर्ने दृष्टिकोण अपनाएकोले त्यस प्रकारको पुरातात्विक सहरको निर्माणमा जोड दिनु झन् आवश्यक हुन गएको छ।

८. अहिले सरकारले ११ र १२ कक्षालाई माध्यामिक शिक्षा बताए पनि त्यसका लागि शिक्षकहरूको दरबन्दीको कुनै व्यवस्था नगरेको हुनाले माध्यामिक शिक्षा अव्यवस्थित हुन गएको छ।

९. निजी शिक्षण संस्थाले विद्यार्थीमाथि गर्ने अनियन्त्रित आर्थिक दोहन र छात्रावासहरूमा भइरहेका जघन्य अपराधहरूमाथि नियन्त्रण तथा अपराधअनुसार कारबाहीको व्यवस्था गरिनु पर्दछ।

१०. स्वास्थ्य क्षेत्रको बढिरहेको निजीकरण र सार्वजनिक अस्पतालमा स्वास्थ्य उपचारमा भइरहेको लापरवाही बन्द गरिनुपर्दछ।

११. युवाहरूको वैदेशिक पलायन रोक्न र देशभित्र रोजगारीको व्यवस्थाको लागि आवश्यक व्यवस्था गरिनुपर्दछ। वैदेशिक रोजगारमा गएका मजदुरहरूको अन्तर्राष्ट्रिय कानुनअनुसार मानवअधिकार र सामाजिक सुरक्षाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्दछ।

१२. जेष्ठ नागरिक, महिला, बालबालिका र विकलाङ्गहरूको हक र सुविधाकालागि विशेष व्यवस्था गर्नुपर्दछ।

१३. कपास विकास समितिलाई खारेज गरेर राष्ट्रिय उद्योगहरूलाई दुरुत्साहित गर्ने बजेटको नीतिको विरोध गर्ने। हामीले उक्त विषयहरुमा ध्यान दिँदै बजेटमा भएका गल्तीहरुलाई सुधार्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ। हाम्रो त्यस प्रकारको विरोधका वाबजुद हाम्रो पार्टी अन्ततः बजेटलाई समर्थन नै गर्नेछ किनभने बजेटप्रतिको हाम्रो त्यस प्रकारको नीति सरकारप्रतिको समर्थनको नीति अन्तर्गत नै आउँदछ।

८. अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय जनमोर्चाका तर्फबाट जेठ १ गते देखि १५ गते सम्म मेची–महाकाली अभियान सफलतापूर्वक सम्पन्न भएको छ। देशमा प्रत्यक्ष रूपले नै अमेरिकी साम्राज्यवादको खतरा बढ्दै गएको हुनाले त्यसका विरुद्धको संघर्षमा जोड दिनु राष्ट्रिय आवश्यकता भएको छ र मेची–महाकाली अभियान त्यो दिशामा उठाइएको महत्वपूर्ण कदम हो। बैठक त्यो अभियानको पनि गम्भीरतापूर्वक मुल्याङ्कन गरेर त्यो अभियान सफल भएको निष्कर्षमा पुगेको छ र आगामी दिनहरूमा अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षलाई अरू उच्च स्तरमा अगाडि बढाउन जोड दिने निर्णय गरेको छ।

२०८० जेठ २५ गते।  
मोहनविक्रम सिंह
महामन्त्री

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .