प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा चाहिएको बताएका छन्।
राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टीकरण थियो।
प्रधानमन्त्री दाहालले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए।
त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताए।
‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन। नराम्रो गर्दैगर्दै आएर अब राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो’, उनले भने, ‘जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ। कसले स्पष्टीकरण दिनु भन्यो, कहाँ? हामीलाई स्पष्टीकरण होइन, राजीनामा चाहिएको छ।’
ओलीले प्रधानमन्त्री दाहालले यसबीचमा सरकारमा रहँदा केही पनि राम्रो काम नगरेको जिकिरसमेत गरेका छन्।
भिडिओ
Shares
प्रतिक्रिया