कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले दुई/तीन दिनभित्रै संसद्बाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुने दाबी गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित कांग्रेसनिकट तमु संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न कसैको मुख नहेर्ने प्रतिवद्धता जनाए।
‘हरेक भ्रष्टाचारको काण्ड र सामन्तवादको अवशेषलाई अन्त्य गर्नका लागि मिटरब्याजी विधेयक लिएर आएका छौं,’ मन्त्री गुरुङले भने, छयहाँ इफ, बट कहीँ लाग्दैन। यो विधेयक दुई/तीन दिनभित्र संसदबाट पारित गराउँछौं।’
कांग्रेस उपसभापति समेत रहेका गुरुङले मिटरब्याजसम्बन्धी कानुन अघि बढाउने कुरामा सिंगो कांग्रेस एकढिक्का भएको पनि दाबी गरे।
‘मिटरब्याजीको अनुचित लेनदेनको जुन विधेयकलाई अघि बढाउने कुरामा सिंगो कांग्रेस पक्षमा उभिन्छ,’ गुरुङले अघि भने, ‘सभापतिज्यूले भर्खर मलाई भन्नुभएको छ, मिटरब्याजी पीडकलाई जसरी पनि कारबाही गर्नुपर्छ, त्यो विधेयक पारित गर्न अघि बढ भन्नुभएको छ। हामी सिंगै कांग्रेस एक ठाउँमा छौं।’
उनले मिटरब्याजीहरुलाई कानुनको कठघरामा ल्याउने कुरामा षडयन्त्र भइरहेको पनि बताए। ‘सरकारले एकपछि अर्को भ्रष्टाचारका काण्डहरु सरकारले ल्याइरहेको छ। म सुन्छु सरकार ढल्छ ढल्छ भनेर। भ्रष्टाचारका विरुद्धमा आवाज उठाउने र फाइल खोल्ने क्रममा मिटरब्याजी पीडकहरुलाई पनि कानुनको कठघरामा उभ्याउनका लागि अध्यादेश लिएर आउँदा त्यसलाई आउन नदिने षडयन्त्र पनि एकातिर भइरहेको छ,’ गुरुङले भने।
Shares

प्रतिक्रिया