राजनीति


नेतालाई एउटा जनतालाई अर्को कानुन हुन सक्दैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री (भिडिओ)

नेतालाई एउटा जनतालाई अर्को कानुन हुन सक्दैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री (भिडिओ)

नेपालखबर
साउन ८, २०८० सोमबार १६:२३, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताए। ।

‘सामाजिक न्याय सहितको समृद्धि, समाजवादउन्मुख समृद्धिको दिशातर्फ हामी जानुपर्छ। आजको मिसन यसलाई बनाउनुपर्छ। त्यसै अन्तर्गतका मिसनमा सरकार र गृह मन्त्रालयले काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘यस सन्दर्भमा प्रश्न उठिरह्यो। की यो कहाँसम्म जान्छ? मैले बारम्बार भनेको छु की स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ।’

उनले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे। 

‘त्यो अनुसन्धानले तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानपर्ने गरी दोषीलाई फेला पार्न अघि बढ्छ। दोषी र अपराधीलाई छोड्ने काम हुँदैन। निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीहरू छुट्ने काम नहुन्,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यो दृष्टिकोणको आधारमा प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन छ। त्यसको आधारमा प्रहरीले यो प्रक्रिया अघि बढाइरहेको छ।’

मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिइसकेपछि नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको पनि बताए। 

‘यहाँ त अचम्म, नहुनु पनि किन त्यसलाई म स्वभाविक मान्छु। अलिकति राजनीतिक क्षेत्रका नेताहरू दोषी, अपराधी देखिए कारबाहीको लागि नियन्त्रणमा लिएर मुद्दा चलाइयो भने पार्टीका नेताहरू यो त भएन नि भन्न थाल्छन्,,’ उनले भने, ‘उद्योग व्यवसायी परे भने हामीले त कर तिरेका छौँ, राज्य चलाउन सहज बनाएका छौँ, हामीलाई पनि गर्ने? भनेर आवाज उठाउँछन्। कर्मचारी परे, कर्मचारीलाई कहाँ कारबाही गर्न पाइन्छ भन्छन्, अनि कसलाई गर्ने, त्यही शक्ति नभएकालाई कारबाही गर्ने?’

सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता उनले जनाए। मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताए। उनले कानुन सबैका लागि बराबर हुने बताए।

‘धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई एउटा कानुन म मान्दिनँ, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैनँ, राजनीतिक नेताहरुलाई एउटा कानुन अनि राजनीतिमा नरहेकालाई अर्को कानुन हनु सक्दैन। कानून सबैका लागि समान हुन्छ,’ गृहमन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .