नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय किलो सुन बाहिरिन नसक्ने बताएका छन्।
बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताए।
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्वीन्टल सुन बाहिरिनुले सत्ताको संलग्नता रहने स्पष्ट हुने बताए। उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए।
उनले भने, ‘संसद बन्दको विकल्पमा अरु बाटो खोल्नुपर्छ। उहाँहरुले उठाउनुभएको इएस्युजहरुमा कतिपयमा हाम्रो पनि सहमत छ। जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु। सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ। एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ।’
नेता केसीले संसद बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए।
Shares

प्रतिक्रिया